इनरुवाः जिल्ला प्रशासन कार्यालय सुनसरीले चालू आर्थिक वर्षको पाँच महिनामा सात हजारभन्दा बढीलाई नयाँ नागरिकताको प्रमाणपत्र जारी गरेको छ ।
जिल्ला सदरमुकाम इनरुवास्थित प्रशासन कार्यालयमा साउनदेखि मङ्सिरसम्म सात हजार छ सय थान नयाँ नागरिकताको प्रमाणपत्र जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार यही अवधिमा सात हजार २०३ थान नागरिकताको प्रतिलिपि जारी गरेको छ ।
प्रशासन कार्यालयले नियमित सार्वजनिक गर्दै आएको १५ वटा क्रियाकलाप र सेवाको विवरणअनुसार नयाँ नागरिकता, प्रतिलिपी जारी, राष्ट्रिय परिचयपत्र, राहदानी, संस्था दर्ता, मुद्दा, नाबालक परिचयपत्र, बजार अनुगमन, विभिन्न समन्वय बैठक, राहत तथा उद्धार र राजस्व सङ्कलनको विवरणसमेत सार्वजनिक गरेको छ । यादवका अनुसार अन्याय भएको तथा शान्ति सुरक्षासहितको १३७ वटा ठाडो उजुरीसमेत आएको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।