धरानः धरान १८ सुन्दर बजार स्थित एक घरमा आगलागी हुँदा २ करोड ५० लाख क्षति भएको छ । आगलागीमा सोही घरमा सञ्चालित एक होटर र ३ औषधि पसल पनि जलेर नष्ट भएको प्रहरी जनाएको छ ।

शुक्रबार राती धरान १८ सुन्दर बजार स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुल प्रवेशद्धार अघि आगलागी हुँदा चारकोठे एक घरसहित ३ औषधि पसल जलेर नष्ट हुँदा २ करोड ५० लाख रुपैयाँ बराबर क्षति भएके प्रहरीले जानकारी दिएको छ ।

 प्रहरीका अनुसार आगलागीबाट मिनु बान्तवाको होटलको ३० लाख रुपैयाँ, लक्ष्मण खड्काको निको ट्रेड सप्लायर्स र निको मेडिकल पसलको १ करोड २० लाख रुपैयाँ र अरुण साहको फ्रेन्डस फार्मेसीको ९० लाख रुपैयाँ बराबरको औषधि क्षति पुगेको हो । 

आगलागी भएको घर महेश तामाङको हो । धरान उपमहानगरको दुइटा दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि इटहरी र बराहक्षेत्रबाट पनि दमकल बोलाइएको थियो । 

८ वटा बारुणयन्त्र, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको बेला विद्युत सर्ट भएर आगोलागी भएको आशंका गरिएको छ ।