विराटनगरः विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अवैध निर्माण भएका संरचना भत्काउने क्रममा आफ्नै घरमा डोजर चलाएका छन । 

अवैध संरचनाले सुन्दरतालाई कुरुप बनाएको  भन्दै फुटपाथमा अनावश्यक लगाइएका जस्तापाताहरु ह्टाउने क्रम मेयर कोइरालाले आफ्नै घरबाट शुरु गरेका हुन । 

विराटनगर–९ जलजला रोडमा रहेको भाडामा लगाएका पसलमा सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको हो । 

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका नगरप्रमुख नागेश कोइरालाले बताए । 

यस अघि महानगरले अव्यवस्थित टहरा हटाउन  ३५ दिने सूचना जारी गरीसकेका थिए ।  व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको महानगरले बताएको छ ।

विराटनगर प्रदेशको राजधानी पनि भएकाले यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउनु पर्ने भएकाले अवैध संरचना हटाउनुको विकल्प नहरेको महानगरका प्रमुख कोइरालो बताएका छन् ।

महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको नगरप्रमुख कोइरालाले बताए । 

अभियानअन्तर्गत नगरप्रमुख कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालय अगाडि रहेका पसल, वडा नम्बर ९ को कार्यालय, बुधहाट चोकस्थित वी प्लटमा अवस्थित पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ । अभियानलाई हरेक दिन सञ्चालन गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।