इटहरीः सडकपेटीमा अतिक्रमित संरचना भत्काउन इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी अग्रसर भएका छन् । यस अघि ३५ दिने सार्वजनिक सुचना जारी गरेका भण्डारीले सुचना जारी गर्दा पनि अटेर गर्ने र सार्वजनिक ठाउँमा अतिक्रमण गरेर सडक पेटि मिचेकाहरुलाई सम्झाउँदै डोजर बोकेर हिडेका हुन ।
मंगलबार (हिजो)बाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको इनरुवा नगरपालिकाले बताएको छ ।
नगरपालिकाले यसअघि ३५ दिने सूचना जरी गरिएको थियो । अन्तिम पटकको ३ दिने सूचना समेत जारी गरिएपनि अटेर गरेका संरचना भत्काउन सुरु गरिएको हो ।
पटक–पटकको सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै भण्डारीसहितको नगरपालिकाको टिम डोजर लिएर सडकमा निस्किएको हो । डोजर लिएर मेयर भण्डारी सडक पेटीमा पुग्दा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव पनि देखिएका छन् ।
मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अगाडि बढाएका हुन् ।
व्यापारी र केही स्थानीयको अवरोधकाबीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन सुरु गरेको छ ।