इटहरीः  घरमा कोही नभएको अवस्थामा १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी १९ का खेमराज गिरीलाई पक्राउ गरेको छ । 

इटहरी उपमहानगरपालिका वडा नं. १९ ब्रह्मपुरकी बालिकालाई छिमेकीले कोही नभएको मौका छोपेर बलात्कार गरेको भन्दै स्थानीयबासीले दिएको उजुरीको आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । 

आमा–बाबू नै घरमा नभएको मौका छोपेर बालिकालाई बलात्कार गरेको आरोप गिरीमाथि लागेको हो । 

उनले मंसिर १८ गते आइतबार साँझ करीब ६ बजेतिर बालिकाको कोठामै गएर बलात्कार गरेको पीडितले जनाएका छन् । घरमा एक्लै रहेकी बालिकाले बाख्रा र कुखुरा खोरमा थुन्ने क्रममा गिरी पिडित बालिकाको घरको कोठामा पसेको र बालिका चिच्चाएको आवाज सुनेपछि गिरीलाई स्थानीयले घरमै भेटेर प्रहरीलाई जिम्मा लगाएका हुन । 

स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका बलात्कृत भएको खबरपछि प्रहरीले सोहीदिन गिरीलाई पक्राउ इप्रका इटहरीले जनाएको छ । 

बाबू विदेशमै भएको र आमा पहाड गएको अवस्थामा छिमेकी रहेका गिरीले अपराधिक मनसायले बलात्कार गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले जानकारी दिएका छन् ।