इटहरीः प्रदेश १ को प्रत्यक्ष तथा समानुपातिक दुवै पक्षको नतिजा हेर्दा नेकपा एमाले पहिलो बनेको छ । 

हालै सार्वजनिक भएको समानुपातिक मत परिणाम अनुसार  प्रदेश १ मा प्रत्यक्ष तथा समानुपातिक दुवैमा नेकपा एमाले पहिलो दल बनेको हो । 

प्रत्यक्षतर्फ २५ सिटमा जित हासिल गरेको एमालेले समानुपातिकमा ६ लाख ६५ हजार ४६० मत पाएको छ भने प्रत्यक्षतर्फ १७ सिटमा जित हात पारेको नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९५६ प्राप्त गरेको छ । प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकमा १ लाख ९८ हजार ५११ मत पाएको छ भने ९ स्थानमा जितेको माओवादी केन्द्रले १ लाख ८१ हजार २४५ मत प्राप्त गरेको छ ।

प्रत्यक्षमा एउटा पनि सिट नजितेको जनता समाजवादी पार्टीले प्रदेश १ मा समानुपातिकतर्फ ६१ हजार ७२३ मत प्राप्त गरेको छ । प्रत्यक्षमा ३ सिटमा निर्वाचित नेकपा एकीकृत समाजवादीले भने समानुपातिकतर्फ ५५ हजार ९५७ मत पाएको छ ।

समानुपातिकतर्फ १८ लाख ९९ हजार १४४ मत सदर भएको थियो । आयोगले घोषणा नगरेपनि प्राप्त मतका आधारमा सेन्टर लक विधिबाट हिसाब गर्दा समानुपातिक र प्रत्यक्षसहित प्रदेश १ मा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादी पार्टीको ४ र जसपाको १ सिट पुग्ने देखिन्छ । प्रदेश १ को सरकार बनाउनका लागि ४७ सिट आवश्यक पर्छ ।