धरानः  धरान १३ स्थित अमर सूर्य मार्गकी एकल महिला उषा राईको मृत्यू घट्नामा थप २ जना पक्राउ परेका छन् ।

शुक्रबार कुटपिट घट्नामा संलग्न भएको आरोमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका अनुसार सुसेली राई र सुमित्रा राईलाई पक्राउ गरेका हुन् । उनीहरू कुटपिट घट्नाको भिडियो देखिएकाले पक्राउ गरेको प्रहरी जनाएको छ । 

उषा राई मृत्यु घट्नाको मुख्य आरोपी उर्मिला राई भने बिहीबार नै पक्राउ परेका थिइन् । कार्तिक ३ गते उर्मिला नेतृत्वको समूहले कुटपिट गर्दा घाइते उषा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिन उपचार गरेर डिस्चार्ज भएकी थिइन् । 

उषाले उपचार खर्च पाउने गरी सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए । पुनः उषाको स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठान भर्ना गरिएको थियो । उषा राईको उपचारकै क्रममा मङ्सिर १३ गते मृत्यु भएपछि घटनामा संलग्न भनिएका महिलाहरु फरार छन् ।

 मृतकका आफन्तले उर्मिलासहित ७ जनाको नाममा किटानी जाहेरी दिएका छन् । कार्तिक ३ गते उषा राईमाथि उर्मिला राईको नेतृत्वमा पुगेका महिलाहरुको समूहले कुटपिट गरेका थिए । कुटपिटका साथै विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको आफन्तको भनाई छ ।

 उषाको न्याको माग गर्दै शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी, इलाका प्रहरी कार्यालय धरान र उर्मिला राईको घर घेराउ गरेर प्रदर्शन गरेका थिए ।