इटहरीः इटहरीको कम्युनिष्ट आन्दोलनमा अभियान्ता तथा जेष्ठ नागरिक समाज नेपाल इटहरीका संस्थापक अध्यक्ष स्वर्गीय केवलमान बिष्टको स्मृति दिवसको अवसरमा केवलमान बिष्ट स्मृति प्रतिष्ठान इटहरीले पाँच जना स्रष्टालाई सम्मान गरेको छ । इटहरीको चिया चौतारीमा शुक्रबार आयोजित एक कार्यक्रमका विच प्रतिष्ठानले बिभिन्न क्षेत्रमा योगदान गर्ने पाँच जनालाई प्रदेश १ का यातायात तथा संचार मन्त्री उपेन्द्र घिमिरेले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
केवलमान बिष्ट स्मृति प्रतिष्ठानद्धारा सम्मानित हुनेहरुमा खेलकुदका क्षेत्रमा योगदान पुर्याएको भन्दै फडिन्द्र खड्का, कला क्षेत्रमा योगदान गर्ने सोनु जयन्ती, गीत संगीतमा योगदान गर्ने सुनिता कट्वाल, पत्रकारितामा योगदान गर्ने पीवी दियाली र समाजसेवामा योगदान गर्ने ठमनाथ लम्साललाई सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष रमेश कुमार बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव कुमार बिष्टले कार्यक्रमको औचित्यको बारेमा बोलेका थिए भने सम्मानित मध्येबाट जेष्ठताको आधारमा ठमनाथ लम्सालले केवलमान बिष्टको समाजीक योगदानको बारेमा चर्चा गरेका थिए ।
शैलेस कुमार बिष्टले सञ्चालन गरेको कार्यक्रममा बिष्ट परिवारका साथै सामाजिक व्यक्तिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
