इटहरीः लगातारको तेस्रो प्रयास पछि सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेकी नेतृ भगवती चौधरीले जित हासिल गरेकी छन् । चौधरी मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाईं हराउँदै  निर्वाचित भएकी हुन । 

मंगलबार साँझ सकिएको मतगणनामा भगवतीले विजयलाई ५ हजार बढी मतान्तरले पराजित गर्न सफल भएकी हुन । 

सुनसरी क्षेत्र नम्बर ३ मा भगवतीले तेस्रोपटकको प्रयासमा निर्वाचित अच्छादारलाई हराएकी हुन ।

पटक पटक सोही क्षेत्रबाट निर्वाचित भएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारलाई उम्मेद्वार बनाएकोमा नै भित्री रुपमा रुष्ट कार्यकर्ताले यसपाली गच्छादारलाई विदा गरेका छन् । 

 निर्वाचन अधिकृतको कार्यालयले भगवती निर्वाचित भएको औपचारिक घोषणा भने गरि सकेको छैन । यसअघि दुईपटक भगवती चौधरी विजयसँग झिनो मतले पराजित भएकी थिइन । गत निर्वाचनमा धाधली गरेका आरोप लागेका गच्छादार विरुद्धको मुद्धा अहिले सम्म अदालतमा विचाराधिन रहेको अवस्थामा भगवती चौधरीको जित भएको हो । 

भगवती निर्वाचित जनप्रतिनिधि बनेसँगै गच्छादारको  सातौंपटक निर्वाचित भएर सिंहदरवार प्रवेश गर्ने यात्रा ब्रेक लागेको छ । ५१ वर्षीया भगवती विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा २०४८ सालमा अनेरास्ववियूमा संगठित बनेकी थिइन । नेकपा एमालेकी केन्द्रिय सदस्य समेत रहेकी चौधरी दुहबी वडा नं ३ की बासिन्दा हुन । 

२०६४ को पहिलो संविधान सभामा समानुपातिक सदस्यका रूपमा संविधानसभा प्रवेश गरेकी चौधरी  झलनाथ खनाल प्रधानमन्त्री भएको बेला वन राज्यमन्त्री भएकी थिइन । 

२०७० र  २०७४ सालको निर्वाचनमा पनि गच्छादारसँगै भगवती पराजित भएकी चौधरीको यसपटक भने संसद छिर्ने पक्का पक्की भयो । 

भगवती चौधरीको जितलाई यसपटक विजय ललिता निवास जग्गा प्रकरणसँग पनि जोडेर हेर्न सकिन्छ । गच्छादारको टिकटलाई लिएर पार्टीका थुप्रै नेता तथा कार्यकर्ता समेत रुष्ट बनेका थिए ।  क्षेत्र नं ३ मा इटहरी उपमहानगरपालिकाका दसवटा वडासहित दुहवी नगरपालिका, गढी र बर्जु गाउँपालिका पुरै समेटिएको छ । इनरुवाको वडा नं ७ पनि क्षेत्र नं ३ मै समेटिएको छ ।