धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको मौलिक स्वादको ब्राण्डिङ गर्ने चाहाना भएको बताउँदै विज्ञलाई सुझाव दिन आग्रह गरेका छन् ।

धरानमा २१ दिनसम्म संचालित पाक शिक्षाको अन्तर्राष्ट्रिय तालिमको समापन कार्याक्रम मेयर साम्पाङले प्राविधिक ज्ञानको अधिकतम प्रयोग गर्न विद्यार्थीलाई हौसला प्रदान गरे । 

धरानको पर्यटनलाई समृद्ध बनाउन हस्पिटालिटी सेक्टरको महत्वपूर्ण भूमिकारहने भन्दै मेयर साम्पाङले धरानको विशिष्ट स्वाद पर्यटक माझ पस्कन आफू लालायित भएको सुनाए । मेयर साम्पाङले धरानको मौलिक स्वादलाई ब्राण्डिङ गरेर लानु पर्ने आवश्यकता औल्याए ।

 स्वीट्जरल्यान्डका एक्जेक्युटिभ सेफ गुन्थर नट्जको प्रशिक्षणमा भएको २१ दिनसम्मको तालिममा विद्यार्थीले डेजर्ट आइटम, इटालियन फुड, कन्टिनेन्टल कुजिन, किचन हाइजिङ, फुड डेकोरेसन, फुड स्टोरेजलगायतका सीप आर्जन गरेका छन् । 

20221129_160452 (1)

कार्यशालामा प्रशिक्षक नट्जले आफ्नो सिग्नेचर कुजिन ’वाइन सुप’ लगायत इटलियन, कन्टिनेन्टल कुजिन प्रस्तुत गरेका थिए । एक्जेक्युटिभ सेफ नट्जले प्रेम, समर्पण र कलात्मकताको संयोजनमा खानालाई तयार गर्न प्रशिक्षार्थीलाई प्रोत्साहन गरेको बताए । 

प्रशिक्षण अवधिको अनुभव सुनाउँदै एक्सेक्युटिभ सेफ नट्जले नेपालमा उपलब्ध स्रोत साधनका आधारमा प्रशिक्षण प्रदान गरेको बताए । २१ दिनसम्म विद्यार्थीले आर्जन गरेको सीप उनीहरुको व्यावसायिक र सामाजिक जीवनमा फलदायी हुने विश्वास व्यक्त गरे । नेपाली सत्कारको प्रशंसा गर्दै एक्सेक्युटिभ सेफ नट्जले आफू कृतज्ञ भएको बताए । उनले नेपाली मौलिक खानाको विछ्ट्टकै स्वादको सम्झना रहने बताए ।