धरानः सुनसरी निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा नेकपा एमालेका रमेशकुमार बस्नेत निवार्चित भएका छन् । निर्वाचित भएपनि बस्नेतले खानेपानी समस्या समाधान पहिलो प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन् ।

बस्नेतले निकटतम प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेपाली कांग्रेसका उमेश थापालाई १ हजार ३ सय ५० मतले हराउँदै निवार्चित भएका हुन् । उनले ११ हजार १ सय २ मत प्राप्त गरेका छन् भने थापाले ९ हजार ७ सय ५२ मत प्राप्त गरेका छन् । उनले धरान खानेपानी समस्या पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ‘आफ्नो कार्यक्षेत्रमा परेकाले धरानको खानेपानी समस्या समाधान गर्न पहल गर्छु ।’ 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठ (मकै) ले ८ हजार ३ सय ६३ मत प्राप्त गरेका छन् स्वतन्त्र उम्मेदवार समिर तामाङले ४ हजार ४ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

316391370_1610308866109149_7418566708449832561_n


निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं १ का अनुसार प्रदेशसभा (१) मा कुल ३९ हजार ७२६ मत खसेको थियो । ३७ हजार ९ सय ४२ मत सदर भएको थियो भने १ हजार ७ सय ९४ मत वदर भएको थियो ।  

सुनसरी क्षेत्र नं. १ मा २०७४ को निर्वाचनमा पनि एमालेका प्रदिप कुमार भण्डारी निर्वाचित भएका थिए । उनले  १९ हजार २४३ मत ल्याउँदै निर्वाचित भएका थिए । नेपाली काङ्ग्रेसका किशोर राई १३ हजार ७ सय ७० मत प्राप्त गरेका थिए । निर्वाचन कार्यालय सुनसरीको तथ्यांकअनुसार गत निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भण्डारी प्राप्त गरेको मतभन्दा ८ हजार १ सय ४१ मत कमले बस्नेत विजयी भएका हुन् ।

 २०७४ मा कुल ६१ हजार ७ सय ५५ मतमा ३८ हजार ४६१ खसेको थियो  । त्यसमध्ये ३६ हजार ७ सय ७२ मत सदर भएको थियो भने १ हजार ६ स ८९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीको तथ्यांकले देखाएको छ । 

316168937_662697078828977_6103320612570109501_n