इटहरीः धनकुटा जिल्लाका सबै  प्रतिनिधिसभा र प्रदेशसभाका क्षेत्रमा नेकपा एमालेले एकलौटी जित हासिल गरेको छ । 

प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्रमा नेकपा एमालेका राजेन्द्र कुमार राई र दुई वटै प्रदेश सभामा तर्फ समेत जित निकाल्दै क्लिन स्वीप गरेको छ । प्रदेशसभा (१) मा नेकपा एमालेकै  निरन राई र प्रदेशसभा (२) मा ईन्द्रमणि पराजुली विजयी भएका छन् ।

प्रतिनिधिसभा तर्फ राईले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल बहादुर थापालाई पराजित गरेका छन्  । एमालेका राईले सुनिल थापालाई १ हजार ३ सय ९७ मतान्तरले पराजित गरेका हुन् । राईले ३० हजार १ सय १ मत ल्याउँदा थापाले २८ हजार ७ सय ४ मत ल्याए ।

प्रदेशसभा (१) मा एमालेका निरन राईले नेकपा(एस) का अर्जुन कुमार राईलाई पराजित गरेका हुन् । निरन राईले १७ हजार १८ मत प्राप्त गर्दा नेकपा(एस)का अर्जुन कुमार राईले १० हजार २ सय २६ मत प्राप्त गरे ।

प्रदेशसभा (२) मा नेकपा एमालेका पराजुलीले नेकपा माओवादीकी कुसुम कुमारी श्रेष्ठलाई पराजित गरेका हुन् । पराजुलीले १५ हजार ७ सय ९७ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार कुसुम श्रेष्ठले ११ हजार २ सय ३० मत ल्याइन  ।