इटहरीः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रममा छ । हाल सम्म गणना भएको मतको आधारमा नेकपा एमालेले प्रदेश १ मा आफ्नो अग्रता लिएको छ भने नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । 

प्रदेश १ मा २८ वटै संघीय निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । हालसम्म २८ मध्ये उदयपुर २ र ओखल्ढुगाको  मतगणना सकिएको छ । उदयपुरमा  एमालेका अम्बर बहादुर रायमाझी विजयी भएका छन् भने ओखल्ढुँगामा प्रदेश क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका प्रदिप कुमार सुनुवार विजयी भएका छन् भने प्रदेश सभा ख मा नेकपा माओवादीका उम्मेद्वार बाबुराम गौतमले जित हासिल गरेका छन् । 

गठबन्धनका तर्फबाट  मतगणना भइरहेका अन्य २७ वटा निर्वाचन क्षेत्रमा एमाले ११ स्थानमा अगाडि छ । एमाले इलामको १ र २, झापाको २ र ५, मोरङका १ र २, धनकुटा, सुनसरीको ३ र ४, सोलुखुम्बु र तेह्रथुम अगाडि छ । दोस्रो स्थानमा रहेको काँग्रेस ७ वटा निर्वाचन क्षेत्रमा अगाडि छ ।  

काँग्रेस पाँचथर, झापा १, मोरङ ३ र ६, संखुवासभा, ओखलढुंगा र उदयपुर १ मा अगाडि देखिएको छ  । यस्तै ५ निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दै माओवादी तेस्रो स्थानमा छ । माओवादी ताप्लेजुङ, मोरङ ४, सुनसरी १, भोजपुर र खोटाङमा अगाडि छ । 

यस्तै रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र २ स्थानमा अगाडि छ । हालसम्म रास्वपा झापा ४ र सुनसरी २ मा आगाडि छ । राप्रपा झापा ३ तथा स्वतन्त्र उम्मेदवार मोरङ ५ मा अगाडि देखिएका छन् ।