इटहरीः प्रदेश नम्बर १ मा एमालले विजय यात्राको खाता खोलेको छ । उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएसँगै एमालले प्रदेश १ मा विजय यात्राको खाता खोलेको हो । 

 निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार भर्खरै मतगणना सकिएको तर एमालेका रायमाझी विजयी भएको औपचारिक घोषणा गर्न बाँकी रहेको छ । 

 एमालेका रायमाझीले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् ।  

रायमाझी १५ हजार २५१ मत प्राप्त गरी विजयी भएका हुन् । रायामाझीका प्रतिद्वन्द्वी नेकपा एसका जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र उम्मेद्वारी दिएका रामकुमार राईले १० हजार ३७९ मत ल्याएका छन् । 

यसअघिको निर्वाचनमा भने उदयपुर २ मा माओवादी केन्द्रका सुरेशकुमार राई विजयी भएका थिए । यसपटक भने सत्ता  गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेको थियो ।