इटहरीः त्रिपक्षिय प्रतिस्पर्धाको आंकलन गरिएको धनकुटाको प्रतिनिधी सभाको प्रतिस्पर्धामा नेकपा एमालेका राजेन्द्र कुमार राईले फराकिलो अग्रता लिएका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई १ हजार १३८ मतले पछि पार्दै राईले अग्रता बढाएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार राईले ५ हजार ५११ मत ल्याउँदा थापाले ४ हजार ३७३ मतले पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी १ हजार ५४३ मतका साथ तेस्रो स्थानमा छन् ।
जिल्लाको कुल ६० वडामध्ये ११ वडाको मतगणना भइसकेको छ । अहिले महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकाका वडाको मत गणना भइरहेको छ । नौ वडा रहेको महालक्ष्मी नगरपालिकाको १ देखि ५ वडासम्मको मतगणना भइसकेको छ भने चौबिसेको ८ वडामध्ये १ देखि ६ वडाको मतगणना भइसकेको छ ।
यता प्रदेशसभाको दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अगाडि छन् । प्रदेशसभा ‘क’ मा नेकपा एमालेका निरनकुमार राई २ हजार ९८१ मतले अग्रस्थानमा छन् भने जनता समाजवादी पार्टीका रकम चेम्जोङले १ हजार ७९३ मत ल्याएर पछ्याइरहेका छन् । मतगणना कार्य जारी छ ।