इटहरीः मंसिरको धमाधममा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जारी मतदान प्रक्रिया सुनसरी जिल्लाभर खासै उत्साह पुर्वक नभएको निर्वाचनमा खटिएको परिवेक्षकहरुले बताएका छन् ।
परिवेक्षकहरुका अनुसार मतदान स्थलहरु बैसाखमा भएको स्थानीय निर्वाचनमा भन्दा धेरै कम भिड भाड भएको पाइएको छ ।
सुनसरी जिल्लाको क्षेत्र नम्बर २ का धेरै मतदान स्थल तथा क्षेत्र नम्बर ३ का केहि निर्वाचन स्थलको परिवेक्षण गरिरहेकी शुसिला उप्रेतीका अनुसार सुनसरीमा अहिले सम्म २३ देखि ४२ प्रतिशत सम्म मतदान भएको बताइन ।
‘कतिपय मतदान केन्द्रमा २३ देखि कुनै कुनै मतदान केन्द्रमा ४२ प्रतिशत सम्म मतदान भएको पाएका छौँ । मतदान केन्द्र शान्त छन् उत्साह पाइएन ।’ उप्रेतीले प्रदेश पार्टलसँग भनिन् ।
हलसम्मको मतदानको अवस्था हेर्दा महिला भन्दा पुरुष मतदाता बढि रहेको निर्वाचन आयोगबाट खटिएकी परिवेक्षक इन्द्रमाया आङ्गबुहाङ्गले बताइन ।
निर्वाचन शान्तिपुण भएता पनि उत्साह नभएको परिवेक्षकहरुले बताएका छन् । अहिले सम्म भएको मतदानको आधारमा साँझसम्म ५० प्रतिशतको हाराहारीमात्रै मतदान हुने आंकलन परिवेक्षक दिलकुमारी थलङले बताइन् ।
यस्तै निर्वाचन आयोगबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र मार्फत निर्वाचनको परिवेक्षकको भुमिका निर्वाह गरिरहेका रामधुनी ५ का शिशिर भट्टराईका अनुसार पनि निर्वाचनमा उत्साह कम भएको पाइएको छ ।
रामधुनी नगरक्षेत्रभरी परिवेक्षण गरेका भट्टराईले मतदाताहरु धान काट्न व्यस्त रहेको पाइएको बताए । उनले मतदातामा पुराना राजनितिक दल र हाम्रो चलिरहेको व्यावस्था प्रति नै विश्वास घट्दै गएपछि मतदान प्रक्रियामा सामेल नभएको शिशिर को बुझाई छ ।
४ महिना भन्दा लामो समयदेखि चुनावको मिति घोषणा भएर सरकारले ४ दिन लामो सार्वजनिक विदा घोषणा गरेपछि कतिपय युवा मतदाताले भ्रमणको योजना बनाएर घुम्न निस्केको पाइएको छ भने कतिपय मतदाता मतदान स्थलमा नगई घरमै बसेको पाइएको छ । कतिपय मतदातामा आफ्नो विश्वास गरेको दलको उम्मेद्वार नहुँदा निर्वाचन प्रक्रियामै सहभागि नभएको पाइएको हो ।
निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म ४६ प्रतिशत मतदान भएको बताएपनि स्थलगत अवस्था हेर्दा त्यस्तो देखिँदैन । निर्वाचन आयोगले भने साँझ सम्ममा ७० प्रतिशत मतदान हुने प्रक्षेपण गरेको छ ।