इटहरीः जारी प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा खासै उत्साह देखिएको छैन ।
मतदान गर्न गएका मतदाता बैसाखमा भएको स्थानीय निर्वाचनमा भन्दा धेरै कम भिड भाड भएको भन्दै एक आपसमा कुरा गरेको भेटिन्छन् ।
सुनसरीको रामधुनी बाट मोरङ्ग सुनसरी सिंचाई आयोजनाको मतदान स्थलमा मतदान गर्न गएका अशोक चौधरी मतदान केन्द्र सुनसान देखेर छक्क पर्छन । भन्छन् ‘अस्ति बैसाखमा ३ घण्टा लाइन बस्न परेको थियो आज त सिधै छाप हानेर आइयो ।’
सोहि मतदान स्थलबाहिर भेटिएको रामधुनी ५ का रोयल दाहाल यसपालीको निर्वाचनमा मतदाता शिक्षाको कमी भएको बताउँछन् । ‘थुप्रै बुवा आमा आउनुहुन्छ उहाँहरुलाई कसरी मतदान गर्ने र के मा मतदान गर्ने भन्ने अन्यौल नै देखिन्छ । ’ रोयलले सुनाए ।
केहि राजनितिक दलले मत माग्न घर गाउँमा आएको भएता पनि कसरी मतदान गर्ने भनेर सिकाउन कोहि पनि नआएको इटहरी ४ का ७३ बर्षिय रामजी सुनार सुनाउँछन् ।
स्थानीय निर्वाचनमा जस्तो उत्साहजनक नभएको अनुभव सुनाउदै मतदान स्थल बाहिर भेटिएका सुनार भन्छन् , ‘वैशाखमा त कति लाइन थियो, आज त खासै मान्छे रहेनछ लाइनमा धेरै उभिन परेन ।’
सुनसरीका धेरै मतदान स्थलमा मतदातामा उल्लेख्य उत्साह देखिएन । मतदान गर्न लाइनमा उभिएका धेरै मतदाताले १५ देखि २० मिनेटमा मतदान दिएका छन् भने केहि अल्फवेटका मतदाता थोरै बढि लाइनमा देखिएका छन् ।
मतदान दिएर फर्किएका इटहरीका दिनेश भट्टराई दलका नेताहरु नसच्चिने हो भने यो व्यावस्था नै खतरामा पर्ने संकेत गर्छन । सामाजिक संजाल फेसबुकमा भट्टराईले भनेका छन् ।‘ दलका नेताहरु नसच्चिने हो भने यो व्यावस्था नरहने पक्का संकेत आजको चुनावले देखायो । ’
त्यसो त सुनसरीमा मात्रै नभई देशैभरी मतदानमा उल्लेख्य मतदाताको सहभागिता नहरेको पाइएको छ । यता निर्वाचन आयोगले भने ७० प्रतिशत मतदाताले मतदान गर्ने आकंलन गरेको छ ।