इटहरीः भोली आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन पछि सुनसरी क्षेत्र नम्बर १ को मतगणना धरान स्थित सभागृहमा हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यलय रहेको सभागृहमै मतगणनाको कार्य गरिने निर्वाचन अधिकृतले जनाएका छन् ।
मतदान पश्चात मतपेटिकाहरु संलकन गरेर सभागृहमा नै सुरक्षित राखिने र मतगणना पनि त्यही हुने निर्वाचन अधिकृत रुद्र अर्यालले जानकारी दिए । उनका अनुसार अहिले मतगणनाको लागी ४ वटा ठाउँ तयार गरिदैछ । सुरक्षाको लागी फेन्सिङ गरिनेछ भने सिसिटिभी पनि जडान गरिनेछ ।
विगतमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जिल्ला सदरमुकाम इनरुवामा लगिने गरेको भएपनि यसपाली भने निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको धरान सभागृहमा नै मतगणना हुने भएको हो । अधिकृत अर्यालका अनुसार सुनसरी क्षेत्र नं १ मा १५२ वटा मतदान केन्द्र रहेको छ । त्यहाँ मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत सम्पुर्ण कर्मचारी पुगिसकेका छन् भने निर्वाचन सामग्री, मतपत्र, बक्सा सबै पुगिसकेको छ ।