इटहरीः आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सुनसरी जिल्लाभर ५ सय ९१ मतदान केन्द्र रहने भएका छन् । 

५ लाख ४४ हजार मतदाता रहेको सुनसरीमा जिल्लाभर ४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रत्येक्षमा प्रदेश सभा र प्रतिनिधि सभा गरेर १२ वटा कोटामा चुनावि प्रतिस्पर्धा हुँदैछ भने हरेक क्षेत्रबाट दल र स्वतन्त्र गरेर झण्डै ७ दर्जन उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । 

५ सय मतदान केन्द्र १ सय ६९ मतदान स्थलमा राखिएको छ भने यसपाली पहिलो पटक सरकारी कर्मचारीका लागि २ वटा अस्थायी मतदान स्थल थप गरिएको छ । सुनसरीको लागि एउटा अस्थायी मतदान स्थल झुम्का कारागारलाई तोकिएको छ भने अर्को जिल्ला सदरमुकाम इनरुवामा राखिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताउँछन् । 

निर्वाचनका लागि जिल्लाभर १२ सय भन्दा बढि कर्मचारी खटाइएको छ । अघिल्लो स्थानीय निर्वाचनमा खट्न नपाएका शिक्षकहरुलाई पनि यसपाली निर्वाचनमा खटाइएको प्रशासनले बताएको छ । 

सुनसरी जिल्लामा निर्वाचन सुरक्षाका लागि १ हजार ५ सय ८१ जना नेपाल प्रहरी, २ हजार ४ सय ९५ जना म्यादी प्रहरी ७३९ जना सशस्त्र प्रहरी, ४ सय ४० जना नेपाली सेना र १९ जना राष्ट्रिय अनुसन्धान बिभागका सुरक्षाकर्मी परिचालन गरीरहेको छ । 

हरेक निर्वाचन केन्द्रमा २ जना नेपाल प्रहरी, कम्तीमा ५ देखि ९ जना म्यादी प्रहरी सहित, सशस्त्र र नेपाली सेनाको सुरक्षा रहने छ ।