ताप्लेजुङः मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा १५ जना महिलाले मतदान अधिकृतको जिम्मेवारी पाएका छन् । जिल्लाका विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा महिलाले जिम्मेवारी पाएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार जिल्लाको कुल एकसय २३ मतदान केन्द्रमध्ये १५ वटा केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित विभिन्न गाउँपालिकाका मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएको जिल्ला निर्वाचन अधिकारी खनालले जानकारी दिए ।
उनका अनुसार फुङ्लिङ नगरपालिका ६ को कभर्डहल दाहालगाउँ ‘ख’ मतदान केन्द्रमा सरिता कट्टेल, फुङ्लिङकै वडा नम्बर ९ हाङ्देवाको जनता माध्यमिक विद्यालय ‘ख’ केन्द्रमा विजया राई मतदान अधिकृतका रूपमा खटिएकी छन् ।
यस्तै फुङ्लिङ नगरपालिकाकै वडा ११ फावाखोलाको सिम्बु माध्यमिक विद्यालय ‘क’ केन्द्रको मतदान अधिकृतमा मञ्जु गुरुङ रहेकी छन् ।
त्यस्तै फक्ताङ्लुङ गाउँपालिका–३ लिङखिमको महेन्द्र आधारभूत विद्यालय ‘क’ केन्द्रमा सञ्जय राई, वडा ४ इखाबुको सुनदेवी माध्यमिक विद्यालय केन्द्रमा कविता ओझा, वडा ७ को ओलाङ्चुङगोला वडा कार्यालय मतदान केन्द्रमा बिना कार्कीले मतदान अधिकृतको जिम्मेवारी पाएकी छन् । सिदिङ्वा गाउँपालिका–२ सादेवाको सिद्धेश्वरी माध्यमिक विद्यालय केन्द्रमा लासाङ तामाङ र वडा ३ आङ्खोपको सिंहेश्वरी माध्यमिक विद्यालय ‘ख’ मतदान केन्द्रमा मायादेवी पाठक मतदान अधिकृतका रूपमा खटिएकी छन् ।
जिल्लाको सिरिजङ्घा गाउँपालिका–१ सिनामको सिनाम बहुमुखी क्याम्पस ‘ख’ मतदान केन्द्रमा गीता अधिकारी, वडा ७ खेबाङको गणेश माध्यमिक विद्यालय ‘क’ केन्द्रमा स्वस्तिका अधिकारी, आठराई त्रिवेणी गाउँपालिका–४ स्थित छातेढुङ्गा माध्यमिक विद्यालय ‘क’ केन्द्रमा लक्ष्मीमाया वनेम मतदान अधिकृत रहेकी छन् ।
आठराई त्रिवेणी गाउँपालिका–२ को दुर्गा माध्यमिक विद्यालय फूलबारी ‘क’ केन्द्रमा लक्ष्मीयामा गोम्देन, मिक्वाखोला गाउँपालिका–१ स्थित मोती माध्यमिक विद्यालय खोक्लिङ ‘ख’ केन्द्रमा प्रेमकुमारी लिम्बू मतदान अधिकृत रहेकी छन् । उता मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपको लक्ष्मी माध्यमिक विद्यालय ‘ख’ केन्द्रमा रामकला कार्की र फुङ्लिङ नगरपालिका ३ को बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिबुङ ‘ख’ केन्द्रमा विद्या भण्डारी मतदान अधिकृत बनेकी छन् ।
ताप्लेजुङमा ७५ मतदानस्थल र एकसय २३ वटा मतदान केन्द्र रहेका छन्। मतदान केन्द्रमा खट्ने सबै कर्मचारीलाई मतदान प्रक्रिया र व्यवस्थापनसम्बन्धी अनुशिक्षण प्रदान गरी आ–आफ्नो कार्यक्षेत्र खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आवश्यक निर्वाचन सामग्रीसहित बिहीबार सम्ममा सबै कर्मचारी कार्यक्षेत्रतर्फ लागेका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले जानकारी दिएको खबर गोरखापत्र अनलाइनमा प्रकाशित भएको छ ।