इनरुवाः नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन्  ।  लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने उनको विश्वास छ ।

सुनसरीको कोसी गाउँपालिका– १, स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्नुहुँदै उनले सो दाबी गरेका हुन् । देश विकासको मिसन र भिजन एमालेसँग मात्र भएकाले विकास र समृद्धिको पक्षमा जनताले मतदान गर्ने दाबी उनको छ ।  

देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग रहेकाले मतदाताहरूले एमालेलाई जिताउने अध्यक्ष ओलीले बताए  । निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने उनले चर्चा गरे । 

चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भने, “देशको उत्तरी र दक्षिणी दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध स्थापित गरेर देशलाई विकसित मुलुकको रूपमा रुपान्तारण गरिनेछ ।” फरक प्रसङ्गमा अध्यक्ष ओलीले निर्वाचनपछि एमाले नेतृत्व सरकारले एक वर्षभित्र नागरिकता समस्या समाधान गर्ने बताए ।

अङ्गीकृत र जन्मसिद्धका नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने बताए । देशमा बस्ने कोही पनि नेपाली नागरिकताबाट वञ्चित हुनु नपर्ने व्यवस्था एमाले सरकारले गर्ने उनले विश्वास दिलाए  ।

यसअघि नै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण सुरु गरेकोमा कांग्रेसको अवरोधले वितरण सम्भव नभएको उनले आरोप लगाए । जन्मसिद्ध नागरिकता भएका सन्तानले वंशजको नागरिकता पाउने विषय निर्वाचनपछि सुनिश्चित हुने उनको भनाइ छ । 

यसअघि सुनसरी क्षेत्र नम्बर ३ को दुहबीमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०४८ देखि पटक पटक धाँधली गरेर नेता विजयकुमार गच्छदार सांसद बनेको उनले टिप्पणी गरे । निर्वाचन आयोगलाई स्वच्छ र निष्पक्ष निर्वाचन गराउन उनले आग्रह गरे ।

जसपाका नेता तथा कार्यकर्तालाई सुनसरी ३ र ४ दुवै क्षेत्रमा सूर्य चुनाव चिन्हमा भोट हाल्न उनले आग्रह गरे । निर्वाचन क्षेत्र नम्बर १ मा जसपाको मत धेरै कम भए पनि जसपाका अशोक राईलाई एमालेले सघाएको उनले बताए ।

स्थानीय सरकार सञ्चालनका लागि जसपासहितको गठबन्धन रहने बताउँदै एमालेसँग सहकार्य भएका पार्टीका नेताहरूले जसरी पनि चुनाव जित्नुपर्ने उनले बताए ।