धरानः नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कुरा गर्ने तर काम नगर्ने नेता भएको बताएका छन् ।
बुधबार धरानमा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी आम सभालाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले एमाले अध्यक्ष ओलीले पानी जहाज, रेल ल्याउने र ग्यासमा पाइप जोडेर ग्यास दिने सपना मात्रै बाडेको बताए ।
‘नेपाली जनना सिधा, सरल, उहाँले भनेका कुरामा होकी क्या हो । गरिपो हाल्छ की भन्ने पनि पर्यो । तर कुरा गर्न सजिलो हुन्छ । काम गर्न गाह्रो हुन्छ । उनले भने, ‘ओली कुरा मात्रै गर्ने नेता हो । कुरा गर्न नम्बर वान, कसैले जित्दैन । हसाई दिनुहुन्छ, मनोरञ्जन पनि दिनुहुन्छ । कुरा ज्यादा, काम भएन ।’
प्रवक्ता डा. शरणले सामाजिक सुरक्षा भत्ता बृद्धभत्ता ६८ वर्षमा गठबन्धन सरकारले बनाएको बताउँदै भने, ‘अव ६५ वर्षमा दिने व्यवस्था गछौँ ।’ उनले ओलीले एमाले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसक्दा तीन टुक्रा बन्न पुगेको बताए । उनले लोकतान्त्रिक पद्दतीमा ओलीले अभिव्यक्ति स्वतन्त्रता माथि नै प्रहार गरेको बताए । उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रता नहुँदा एमालेमै उकुसमुकस आयो र एउटा कम्युनिष्ट पार्टी तीन वटामा विभाजन हुनुपर्ने बाध्यकारी परिस्थिति बन्यो ।’ उनले ओलीलाई म जत्तिको जान्ने बुझ्ने कोही छैन भन्ने भ्रम परेको बताए ।
उनले धरानका मेयर हर्क साम्पाङलाई धन्यवाद दिए । ‘धरानले लामो समयदेखि खानेपानीको अभाव भोगिरहेको छ । त्यसको दीर्घकालिन समाधान निकाल्नुपर्छ ।’ उनले भने, ‘हाम्रो मेयर सापले जे जान्नु भा‘छ जे बुझ्नु भा‘छ । उहाँले कोसिस गरिरहनु भएको छ । त्यसका लागि धन्यावद दिन चाहान्छु । तर त्यो प्रयासले सबै आवश्यकता पुर्ति हुँदैन । त्यसको लागि कोशीबाट पानी ल्याउने ठुलै योजना बनाउनु गर्नुपर्छ ।’ गठबन्धन दलले गम्भिर रुपमा लिई योजना बनाई कार्यन्वयन गर्ने उनले बताए ।