भोजपुरः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन दलको तर्फबाट भोजपुरको प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराँती, प्रदेशमा राजेन्द्रकुमार राई र विनोद वान्ततालाई निर्वाचनमा जिताए सङ्घ तथा प्रदेशमा मन्त्री बनाउने आश्वासन दिएका छन् ।  

बुधबार जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका २ स्थित तिवारीभञ्जयाङगमा भएको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो आश्वासन दिएका हुन् । 

राजनीतिक स्थिरताका लागि गठबन्धन गरिएको बताउँदै दाहालले यो गठबन्धन लामो समयसम्म जाने ठोकुवा गरे ।  ‘‘गठबन्धन राष्ट्रको विकास र समृद्धिका लागि गरिएको हो । निर्वाचनमा गठबन्धनको जित निश्चित भए पनि आ–आफ्नो ठाउँबाट खटिन आवश्यक छ’’, अध्यक्ष दाहालले भने, ‘‘गठबन्धन दलको तर्फबाट भोजपुरको प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराँती, प्रदेशमा राजेन्द्रकुमार राई र विनोद वान्ततालाई निर्वाचनमा जिताए सङ्घ तथा प्रदेशमा मन्त्री बनाएर पठाउने छौँ।’’

prakash-saran1

नेपाली कांग्रेका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन दलका उम्मेरद्वारलाई जिताउन भोजपुरवासीलाई आग्रह गरे । आमसभालाई सम्बोधन गर्ने क्रममा प्रवक्ता महतले वर्तमान संविधान र लोकतन्त्रको माग अनुसार आफूहरूले गठबन्धन गरेको उल्लेख गर्दै चुनावमा जिल्ला तथा गाउँगाउँमा गठबन्धनमा भोट हाल्नसमेत जिल्लावासीलाई उनले आग्रह गरे ।  

सभामा जिल्लाभरिका गठबन्धन दलका नेता तथा कार्यकर्ताले आगामी निर्वाचनमा आफ्ना मुद्दालाई जनतामाझ लगेर भारी मतले विजयी गराउने प्रतिबद्धता जनाएका छन् । गोरखापत्र अनलाइनबाट