इलामः नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशले आवश्यकता ठानेमा राष्ट्रपतिको जिम्मेवारी लिन तयार भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पत्रकारहरूसँग कुरा गर्दै आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको भन्दै भने “राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन ।”
उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने भन्दै “अब एउटै दलको सरकार त बन्दैन तर गठबन्धनको बहुमत आउने भएकाले सहमतिमा भागबन्डा मिलाउँदा मलाई जुन जिम्मेवारी पर्छ त्यो बहन गर्न तयार छु ।” इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार बनेका नेता खनालले आफूसँग अनुभव छ, देश बनाउने योजना भएको भन्दै आवश्यकता ठानिएको जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्याउँछु ।”
इलाम क्षेत्र नं १ मा हुन बाँकी काम पनि पुरा गर्नू मेरो दायित्व हो । सोचेजस्तो विकास हुन बाँकी रहेको खनालको भनाइ छ । “लामो समयदेखि मैले प्रयास गर्दा पनि अपूरो रहेको काम गर्न यहाँका जनताले पुनः एकपटक मलाई निर्वाचित गराउनुहुनेछ”, उनले भने , ।