उदयपुरः सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा उदयपुर निर्वाचन क्षेत्र नं। २ का उम्मेदवार , नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।
उदयपुरगढी गाउँपालिका ७ को वडा स्तरीय चुनावी सभामा बोल्दै नेता खतिवडाले पटक–पटक संसद्लाई भत्काउने पार्टीलाई भोट दिन नहुने बताएका हुन् । खतिवडाले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको बताउँदै मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे ।
केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्ने उनको भनाई थियो । ‘एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटकपटक संसद् भत्काउनेलाई अब जनताले सबक सिकाउने छन ’, उनले भने , ‘गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले संविधान मास्ने र राजतन्त्र फर्काउने ओलीलाई चिनिसके ।’ उनले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने बताए ।
प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहजरूपमा चुनाव जित्ने खतिवडाको दाबी छ । नेता खतिवडाले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने भन्दै जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाए । आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजिविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको भन्दै चुनावी अभियानकै क्रममा हामी गठबन्धनका सबै दललाई विजय गराउन चाहन्छौ । हाम्रो सरकार पाँच वर्षका लागि संयुक्त हुनेछ उनले भने ।
उनले सिरहा र उदयपुरको सिमानाको समस्यालाई समाधान गर्न सर्वदलिय , सर्वपक्षीय छलफलबाट पुराना नाप नक्सा हेरेर सिमा विवाद टुङ्ग्याउन आफू लागि पर्ने भन्दै उदयपुरगढीको नदी नाला नियन्त्रण र सडकको गुरु योजना बनाएर अगाडी बढ्नु पर्ने , सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्याको काम निर्वाचन आचार संहिताले रोकेकोले निर्वाचन पश्चात पुनः शुरु गरेर जनताको हातहातमा लालपुर्जा वितरण गर्न टुङ्गो लगाउनु पर्ने बताए ।
प्रदेश सभा सदस्यका उम्मेदबार नारायण बुर्जा मगरले उदयपुरगढीको विकासको लागि गरेको धेरै कामहरु मध्ये अधुरो कामहरुलाई निर्वाचित भएर गएपछि पुरा गर्ने बताए ।