इटहरीः आसन्न निर्वाचनमा राजनीतिक रूपमा प्रभावशाली र मन्त्रीको अनुभवसमेत लिइसकेका उम्मेदवारका कारण सुनसरीका चारवटै निर्वाचन क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । उनका प्रतिस्पर्धीका रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट प्रदेश १ का पूर्वउद्योगमन्त्री जगदीशप्रसाद कुसियैत छन् । सो क्षेत्रमा मन्त्री कार्कीको यो दोस्रो उम्मेदवारी हो भने कुसियैतको चौथो पटकको उम्मेदवारी हो ।
यसअघि सोही निर्वाचन क्षेत्रबाट मन्त्री कार्की विजयी भएका थिए । उनले २०७४ सालको निर्वाचनमा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए । उनले त्यतिबेला ३२ हजार ३४७ मत ल्याउँदा एमालेका श्रेष्ठले २५ हजार ७५० मत प्राप्त गरेका थिए ।
सञ्चारमन्त्री कार्कीले सो क्षेत्रमा विकास निर्माणका कार्यलाई प्राथमिकता दिएकाले उनको लोकप्रियता बढ्दै गएको हो । उनँले सप्तकोसी कटान नियन्त्रण तथा बाढीपीडित उद्धारका सम्बन्धमा विशेष योजना ल्याएका थिए । सांसद विकास कोषमार्फत सो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक निर्माण, पुल, विद्युत्, खानेपानीसम्बन्धी थुप्रै योजनाका साथै कोसीटप्पु वन्यजन्तु आरक्ष वरपर बसोबास गर्ने मध्यवर्ती क्षेत्रका गरिब तथा विपन्न वर्गको आर्थिक जीवनस्तर उकास्ने विशेष कार्यक्रम ल्याउनु भएको थियो । सरकारका प्रभावशाली मन्त्रीका रूपमा परिचित उनकै पहलमा श्रीलङ्का टापुमा पहिलो पटक विद्युत् विस्तार गरिएको थियो।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार उम्मेदवार बनेका छन् । सो क्षेत्रमा उनको यो सातौँ पटकको उम्मेदवारी हो । उनले हालसम्म पराजय बेहोर्नु परेको छैन। उनका प्रतिस्पर्धीका रूपमा एमालेकी भगवती चौधरी छिन् । पछिल्ला तीनवटै निर्वाचनमा गच्छदार र चौधरीबीच प्रतिस्पर्धा हुँदै आएको छ । गत २०७४ सालको निर्वाचनमा गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी थिइन् ।
सुनसरी क्षेत्र नम्बर २ बाट गठबन्धनका तर्फबाट पूर्वराज्यमन्त्री सीताराम मेहता र एमालेका तर्फबाट प्रदेश १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्य प्रतिस्पर्धामा छन् । मेहताले २०७४ सालको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका थिए । त्यस निर्वाचनमा उनले माओवादी केन्द्रका डम्मरु सुवेदीलाई पराजय गरेका थिए । आचार्य २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए भने २०७४ सालको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभामा विजयी भएका थिए ।
सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष अशोक राई उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य मुकेश मुक्साहाङ म्याङ्ग्बो उम्मेदवार छन् भने धरानका पूर्वनगरप्रमुख मनोज म्याङ्ग्बोले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । एमालेबाट उम्मेदवारी नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा जसपाका राई एमालेका जयकुमार राईसँग पराजित भएका थिए । त्यो बेला राई सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार भएका थिए ।
सुनसरीमा प्रदेश सभामा पनि प्रतिस्पर्धा रोचक मानिएको छ । निर्वाचन क्षेत्र नम्बर २ (क) मा एमालेका रेवतीरमण भण्डारी र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका द्वारिकालाल चौधरीबीचको प्रतिस्पर्धा देखिएको छ । भण्डारी एमाले सुनसरी जिल्ला अध्यक्ष तथा इटहरीका पूर्वउपप्रमुख हुन् भने चौधरी लामो समय एमालेमा रहेर जिल्ला अध्यक्ष हुनुका साथै इटहरीका पूर्वप्रमुख थिए । माओवादी केन्द्रमा प्रवेश गरेसंगै उनले उम्मेदवारी पाएका हुन् । सुनसरीमा ५९१ मतदान केन्द्र कायम गरिएको छ भने यहाँ पाँच लाख ४४ हजार ९४१ मतदाता छन् भन्ने खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।