झापाः शालीन  , तार्किक र अध्ययनशील जुझारु वामपन्थी नेता हो पुष्पराज  पोखरेल । पञ्चायत विरुद्ध झापा जिल्ला पञ्चायतको जन पक्षीय उपसभापति देखि मेयर र साँसद्पनि । त्यही परिचय साथ अगाडि आएका पोखरेल अहिले झापा निर्वाचन क्षेत्र नं २ अन्तर्गतको प्रदेश न १ मा  लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रदेश सांसदको प्रत्यासी भएका छन् । 

यो पुष्प पोखरेलको विगतको पहिचान हो । त्यो भन्दापनि उहाँ परिचित छन्, झापाली कम्युनिष्ट आन्दोलनमा उनले निर्वाह गरेको सत्कर्मले । परिवर्तनका लागि झापा विद्रोह लगायतका कम्युनिष्ट आन्दोलनका लागि उनले  गरेको काम सराहनीय मानिन्छ ।  

ओखलढुङ्गामा जन्मेका पुष्प परिवारको साथ २०२८ सालबाट झापा आएर सानै उमेरदेखि राजनीतिमा होमिए  । राजनीति कहिलेकाँही खुसी भन्दा पनि जबर जस्त बनेर जीवनमा आइ लाग्छ, त्यही जीवनका भोग कर्ता  हो पुष्प पोखरेल । १६ वर्षकै उमेरदेखि राजनीतिमा सकिय पोखरेल झापाली कम्युनिष्ट आन्दोलनको एउटा उचाइमा छन् । 

१८/१९ वर्षको उमेरमा पञ्चायती व्यवस्था विरुद्ध कम्युनिष्ट पार्टीमा लागेर झापा विद्रोहमा सहभागि हुनु राजनीतिक लगावको दर्बिलो उदाहरण हो । पार्टी पद्धति र सिद्धान्तमा उनी जति अडिग छन्, विकास निर्माण र नागरिकको समस्याको सवालमा उनी त्यति नै केन्द्रित छन् । 

सानैदेखि पृथक सोच र सकारात्मक धारणा भएका उनी पार्टी पङ्क्तिमा अध्ययनशील नेता, शालीन र बेदाग व्यक्तित्वका रुपमा स्थापित छन् । यो उनको पार्टी पंक्ति भित्रको अर्को परिचय हो । 

२०३२ सालबाट भूमिगत को–अर्डिनेसन केन्द्रबाट राजनीतिक यात्रा शुरु गरेका उनी २०३५ मा अनेरास्ववियुको पहिलो झापा जिल्ला संयोजक बनेका थिए । २०३७ सालमा मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु सभापति भएका पुष्प २०४३ सालमा जनपक्षीय जिल्ला उपसभापतिमा निर्वाचित भए  । स्नातकोत्तरको पढाइ सकेर मेची क्याम्पसमा प्राध्यापन गर्न लाग्दा उहाँलाई स्वर्गीय द्रोणाचार्य क्षेत्रीले देश परिवर्तनका लागि राजनीतिमा अझ सक्रिय गराए   । त्यसपछि उनी निरन्तर जनताको पक्षमा उभिएका छन् ।  

२०४६ सालमा जिल्ला उपसभापतिबाट राजीनामा दिएर पञ्चायत विरुद्ध आन्दोलमा होमिएका उनी त्यो बेला ३ महिना जेल पनि परे । २०४९ सालमा भद्रपुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका पुष्प पोखरेलले २०५१ सालको मध्यवधि निर्वाचनमा साविक झापा क्षेत्र नं १ बाट जनताकोे मन जित्दै सासंद समेत भए  । 

लामो समय नेकपा एमालेको राजनीतिमा होमिनुभएका पुष्प पोखरेलले पार्टीको केन्द्रिय परिषद सदस्यको जिम्मेवारी पनि वहन गरे  । तर पछिल्लो समय नेकपा विभाजनपछि एमालेमा विद्रोह गरी उनी नेकपा एकीकृत समाजवादीको पूनर्गठनमा लागे र केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेका छन्  ।

पोखरेल अहिले झापा निर्वाचन क्षेत्र नं २ अन्तर्गतको प्रदेश न १ मा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट  लोकतान्त्रिक बाम गठबन्धनको  प्रदेश सांसदको प्रत्यासी छन् र जन समुदायको राम्रो समर्थन समेत छ ।