इटहरीः सत्ता गठबन्धन तर्फबाट प्रतिनिधिसभाको लागि सुनसरी क्षेत्र नम्बर १ का माओवादी केन्द्रका उम्मेदवार मुक्साहाङ मेन्याङ्बो (मुकेश)ले चतरा–विष्णुपादुका हुदैं भेडेटार केबलकार सञ्चालन गर्न सम्भव भएको तर्क अगाडि सारेका छन् ।
मंगलबारको चुनावी घरदैलोलाई सम्बोधन गर्दै उम्मेदवार मेन्याङ्बोले केवरकारको माध्यमबाट पर्यटनलाई टेवा पुग्ने बताए । उनले विकासमा पर्यटनका माध्यमबाट अघि बढाउने आधार बताउँदै केबलकार भएकोले धार्मिक र पर्यटकिय क्षेत्रलाई जोड्न केवरकार राम्रो विकल्प हुने तर्क अघि सार्दै आफु प्रतिनिधिसभामा आएको खण्डमा सम्भव पार्ने समेत बताए ।
उनले धार्मिक तथा साँस्कृतिक रूपमा अपार सम्भावनाको क्षेत्र भएको बताउँदै यसलाई स्थानीयको आम्दानी र पर्यटनको केन्द्र बनाउने सकिने बताए । यसका लागि वराहक्षेत्र, चतरा, विष्णु पादुका मन्दिर हुदैं भेडेटार केबलकार सञ्चालन गर्न सके यो क्षेत्रको विकासले फड्को मार्ने समेत तर्क राखेका थिए ।
आफू युवा भएको हिसाबले पनि धेरै मतदाताले विश्वास र भरोसा देखाएको बताउँदै यो उत्साहले चुनावमा विजयी हुने सङ्केत गरेको दाबी मेन्याङ्बोको थियो ।
उनले स्थानीय सरकार, प्रदेश सरकार सङ्घीय सरकार सँग समन्वय गरेर बक्लौरी धरान जोड्ने सडक, चतरा–सुर्यकुण्ड सडकलाई प्राथमिकताका साथ अघि बढाउने उनले बताएका थिए ।
धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय देखि भ्रष्टाचार तथा बेथिति रहेको बताउँदै यस पूर्ण रूपमा अन्त्य गर्न आफूले महत्त्वपूर्ण भूमिका खेल्ने समेत तर्क राखे । त्यस्तै खेलकुदमा भविष्य देख्ने युवाहरूका लागि विशेष योजना सहित खेलकुदको समेत विकास गर्ने उनको दाबी छ ।
उनि सुनसरी एकबाट गठबन्धन दलका तर्फबाट साझा उम्मेद्वार हुन । मेन्याङ्बोको प्रतिद्धन्द्धिको रुपमा जसपाका अशोक राई र स्वतन्त्र उम्मेदवार धरानका पुर्व मेयर मनोज कुमार मेन्याङ्बो छन् ।