इटहरीः सत्ता गठबन्धनका सुनसरी क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सीताराम मेहता र सुनसरी २ ‘क’ का नेकपा माओवादी तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार द्धारिकलाल चौधरीको चुनावी घरदैलो अभियान शनिवारबाट सुरु भएको छ ।
साँस्कृतिक कार्यक्रम सहित चुनावी घरदैलो अभियान इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३ बाट सुरु गरिएको नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरकी सह–सचिव सुशिला उप्रेतीले जानकारी दिइन ।
घरदैलो अभियानमा उम्मेदवारले कोरोना महामारीको बेला द्धारिकलाल चौधरी इटहरी उपमहानगरपालिकाको मेयर रहँदा बिरामी उद्धार र राहत वितरणमा रहेको कामको प्रशंसा गर्दै भोट दिने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘कोरोनाको बेला हामीले फोन नै नगर्दा पनि एम्बुलेन्स पठाएर सहयोग गर्नुभयो । हाम्रा बाटा घाटाहरु पिच भएका छन् हामी खुसी छौँ । ’मतदातालाइ उद्धृत गर्दै घरदैलो अभियानका एक नेताले बताए ।
घरदैलो अभियानमा गठबन्धनका तर्फबाट उम्मेदवारहरु सीताराम मेहता, प्रदेशसभाका उम्मेदवार द्धारिकलाल चौधरी साथै नेकपा माओवादीको तर्फबाट अनिता परियार, मदन चुँडाल, ज्वाला तामाङलगायत नगरकमिटीका नेता तथा गठबन्धनका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
साँस्कृतिक टोलीले ठाउँ ठाउँमा नृत्य तथा संगीतले मतदातालाई मनोरन्जन प्रदान गरेका थिए । चुनावी घरदैलो कार्यक्रम अन्तर्गत आइतबार रामधुनी नगरपालिकाका वडा नम्बर ३ र ५ का वडामा उम्मेदवारहरु उपस्थित हुने बताइएको छ ।