धरानः  आगामि मङ्सिर ४ गतेको निर्वाचनका लागि किरात खम्बुवान साझा पार्टीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा १ नं. प्रदेशको नाम किरात सुनिश्चित गर्ने उल्लेख छ ।

शुक्रबार धरानमा सार्वजनिक प्रतिबद्धता पत्रमा किरात प्रदेश अन्तरगत ऐतिहासिक पृष्ठभूमिको आधारमा किरात खम्बुवान, किरात खम्बुवान स्वायत्तता निर्माण गर्ने जनाएको छ ।

 कार्यक्रम पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका सुनसरी क्षेत्र नं. १(२) का उम्मेदवार भुपी कोयी राईले १ नं. प्रदेशको नाम किरात राख्न पहल गर्ने बताए । उनले भने, ‘हाम्रो बटमलाइन किरात प्रदेश हो ।’ प्रतिबद्धता पत्रमा निःशुल्क उच्च शिक्षा, योग्यता क्षमताअनुसारको रोजगारी व्यवस्थापन, सप्तकोशी चतराबाट धरानको खानेपानी समस्या दीर्घकालिन समाधान गर्ने, राष्ट्रघाती एमसीसी, एसपीपीजस्ता सम्झौता खारेज गर्ने, नेताहरुको सम्पती छानविन गर्नेलगायतका प्रतिबद्धता सार्वजनिक गरेको हो । 

उत्पीडित, उपेक्षित, समुदायको भाषिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक अधिकार सुनिस्चित गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । जातीय ,लिङ्गिय, क्षेत्रीय, वर्गिय अन्तरविरोधको अन्त्य गर्ने, मुलुकमा दिगो शान्ती, समृद्धि, सुशासन कायम गर्ने, बिचौलिया, भ्रष्टचार, दलाल, घुसखोरी अन्त्य, निशुल्क स्वास्थ्य सुविधा व्यवस्था प्रतिबद्धता जनाएको छ । 

किरात खम्बुवान पार्टीले प्रतिनिधिसभा सुनसरी क्षेत्र १ मा देबीबहादुर राई चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, सुनसरी क्षेत्र नं. १ (१) मा सुरेश कुमार राई र सुनसरी क्षेत्र नं. १ (२) मा भुपी कोयी राईले चुनावी प्रतिस्पर्धामा छन् ।