इटहरीः एक महिना भन्दा लामो समय पछि बसेको धरान उमहानगरपालिकाको कार्यपालिका बैठक बिहिबार एजेण्डामा प्रवेश नै नगरी स्थगीत भएको छ ।
गत असोज १३ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बहुसाँस्कृतिक पार्क बनाउने प्रस्तावमा विवाद भएपछि स्थगीत भएको थियो । बिहिबारको बैठकमा कार्यपालिका सदस्य र वडा अध्यक्षहरुले अघिल्लो बैठकमा मेयरले बोल्दै गरेका कार्यपालिका सदस्यलाई बाहिर जानु भनेकाले माफी माग्नु पर्ने अडान राखेका थिए ।
तर, मेयर साम्पाङले आफुले पटक पटक बस्नुस् भन्दा नमानेको र आफु बैठकको अध्यक्षता गरिरहेकोले भनेको नमान्नु पनि मर्यादाविपरीत भएको भन्दै आफुले गल्ती नगरेको कारण माफी नमाग्ने अडान राखेका थिए ।
यही बिषयमा मेयर र वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुबीच झण्डै आधा घण्टा जुहारी चलेको थियो । लामो छलफल हुँदा पनि एजेण्डामा प्रवेश गर्ने अवस्था नबनेपछि मेयर साम्पाङले बैठक स्थगीत गरेका थिए । अब बैठक कहिले बस्छ भन्ने टुंगो लागेको छैन । अघिल्लो बैठकमा सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने एजेण्डामा कार्यपालिका सदस्य अनुप देवानले आफ्नो धारणा राखिरहँदा विवाद उब्जिएको थियो ।
उनको उक्त भनाईमा असन्तुष्टि जनाउदै मेयर साम्पाङले भोट नमाग्नुस् भन्दै उनलाई बोल्नबाट रोक्दै बस्न भनेका थिए । तर, कार्यपालिका सदस्य देवानले आफु नबस्ने भन्दै आफ्नो कुरा जारी राखेपछि मेयरले त्यसो भए बाहिर जानुस् भनेका थिए ।
मेयर साम्पाङको यो अभिव्यक्तिप्रति आक्रोशित हुदै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका थिए भने मेयरले माफी नमागेसम्म बैठकमा सहभागी नहुने घोषणा गरेका थिए ।