इटहरीः नेकपा एकीकृत समाजवादीकी प्रदेश नम्बर १ प्रदेशसभा सदस्य तर्फ समानुपातिक उम्मेदवार रविना खातुनले आफु राजनिति नबुझ्ने भएपनि महिला , मधेसी र पिछडिएका वर्गको प्रतिनिधित्व गर्दै प्रदेश सभामा जाने बताएकी छन् ।
बुधबार प्रदेशसभा निर्वाचन क्षेत्रिय कमिटी नेकपा एकीकृत समाजवादी सुनसरी क्षेत्र नम्बर ३ ‘क’ ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा आफ्नो मन्तव्य राख्दै खातुनले आफु महिला, मधेसी, आदीबासीको हितका लागि कामगर्ने बचनवद्धता समेत व्यक्त गरिन् ।
‘म महिला हुनुको नाताले महिलालाई देखिने पाठेघरको समस्या साथै ब्रेष्ट क्यान्सर लगायतका रोगको निःशुल्क उपचारको लागि पहल गर्नेछु । म राजनिति बुझ्दिन तर धेरै संघर्ष गरेर यहाँसम्म आएकी तपाईहरुकै मुस्लिम चेली हुँ भोट दिनुहोला ।’ खातुनले भनिन् ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एंव प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले मंसिर ४ गतेपछि नेकपा एमाले कि त सुध्रिनुपर्ने कि त सकिनुपर्ने भनाई राखे ।
कार्यक्रममा नेकपा माओवादीका नेता भानु मैनालीले मैले गरेको मत मेरै लागी हो भन्ने सम्झेर अन्य पार्टीका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्ने आवश्यकता औल्याएका थिए । नेकपा एसकी केन्द्रिय सदस्य तथा प्रदेश सभाकी समानुपातिक उम्मेदवार सुस्मा राईले अर्को दलको उम्मेदवारलाई कसरी भोट हाल्ने भन्दा पनि संविधानको रक्षा र प्रतिगमनको विरुद्धमा भोट हाल्न अनुरोध गरिन् । नेकपा एसका केन्द्रिय सदस्य तथा राखेपका पुर्व सदस्य सचिव केशव कुमार बिष्टले यसपालिको निर्वाचन नेपालीले हार्ने विदेशीका गुलामले जित्ने अवस्था आउन नदिन पनि विशेष रहेको बताए । मंसिर ४ को निर्वाचनमा आफुले मन पराएको नेता भए कि भएनन् भन्दा पनि प्रतिगमनको विरुद्धमा आउन नेपाली जनतालाई बिष्टले आग्रह गरे ।
कार्यक्रममा सुनसरी ३ ‘क’ का लागि प्रदेश सभाकी उम्मेद्वार नेकपा माओवादी केन्द्रकी नेतृ सरस्वती पोखरेलले आफ्नो प्रतिस्पर्धीको रुपमा राजावादी उम्मेदवारलाई नेकपा एमालेले खडा गरेकाले सरस्वती पोखरेल अहिलेको अवस्थामा समयको माग भएको बताइन् । आज म गठबन्धनको साझा उम्मेदवार छु भोली तपाईहरु सबैको साझा जनप्रतिनिधि बन्नेछु पोखरेलले भनिन् । आफु नेकपा एमालेको राजनितिबाट उदाए पनि जनयुद्धका कठोर समयमा परिवर्तनका पक्षमा रहेर संघर्ष गरेको र लोकतन्त्रको पक्षधर भएर काम गरेको बताउँदै पोखरेलले मुलुकको परिवर्तन नेकपा एमालेबाट हुन सक्दैन भनेर २०५८ सालमा आफु नेकपा माओवादीमा प्रवेश गरेको बताइन् ।
२०६४ सालदेखि सुनसरीको भुगोलमा राजनिति गरेको र २०७४ सालमासमानुपातिक तर्फबाट प्रदेशसभा सदस्य तथा प्रदेश १ प्रदेश सभाको उपसभामुख समेत भइसकेकाले अव प्रत्यक्ष तर्फबाट जनताबाट चुनिएर प्रदेशसभामा प्रतिनिधित्व गर्ने पोखरेलको भनाई थियो ।
कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नम्बर ३ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छादारले जयनेपाल र लालसलाम मिलेर नै अहिले सम्मका ठुला ठुला परिवर्तनहरु सम्भव भएकाले अहिले गठबन्धनको तर्फबाट आफुलाई जिताउन आफ्नो निर्वाचन क्षेत्रका जनतालाई आग्रह गरे । ‘मेरो जित भए गठबन्धनको जित हुन्छ मेरो हार भए गठबन्धनको पनि हार हुन्छ।’ गच्छादारले भने ।
नेकपा एकीकृत समाजवादी इटहरी नगरकमिटीका अध्यक्ष गणेश बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा इटहरी नगर इन्चार्ज केवल फुयाल, सहइन्चार्ज रमेश खत्री , लगायत नेकपा एकीकृत समाजवादीका समानुपातिक तर्फका उम्मेदवारहरु गौरीमान परियार, सुन्दरमणि राई, गोपाल बहादुर भण्डारी, धनकुमारी चौधरी, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जनजाति महासंघका सत्यनारायण चौधरी तथा नयनतारा सिटौलाको सांगितीक प्रस्तुतीले माहौललाई संगीतमय बनाएको थियो ।