धरानः आगामी मङ्सिर ४ को निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज कुमार मेन्याङबोले आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन् ।
बुधबार धरानमा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा सुनसरी क्षेत्र नं. १ उम्मेदवार तथा धरानका पूर्व मेयर मेन्याङबोले आफ्नो प्रतिष्पर्धी कोही नभएको बताएका हुन् । ‘मेरो प्रतिस्पर्धी नै छैनन् । चुनाव चिन्ह खरायो छ । तर मेरो रफ्तार घोडाको छ ।’ उनले भने, ‘ठुला दलका उम्मेदवार तेस्रो, चौथो स्थान हुन्छन् । विजेता र उपविजेता स्वतन्त्र हुने सम्भावना देख्छु ।’ उनले आफू निर्वाचित हुने आधारहरुमा जनप्रतिनिधि हुँदा धरानमा गरेका कामहरु नै भएको बताएका छन् ।
एमालेका प्रदेश सदस्य रहेका मेन्याङबोले पार्टीले तालमेलको नाममा गलत व्यक्तिलाई टिकट दिएको बताउँदै सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार घोषणा गरेका थिए । पूर्व नगर प्रमुख मेन्याङबोले बुधबार पत्रकार सम्मेलन गरी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफू निर्वाचित भएपछि पनि कुनै राजनीतिक दलमा आवद्ध नरही स्वतन्त्र सांसदकै भुमिका रहने समेत बताए ।
‘म पार्टीको गलत प्रवृत्तिविरुद्धको उम्मेदवार हो । निर्वाचित भएपनि स्वतन्त्र सांसदको रुपमा रहन्छु ।’ उनले भने, ‘जुनै पार्टीको सरकार बनेपनि असल र खराबका आधारमा सरकारलाई समर्थन गर्छु ।’ उनले सुनसरी क्षेत्र नं. १ मा भइरहेको विकृत राजनीतिलाई सच्याउन बाध्यत्मक रुपमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । मेन्याङबोले १ सय ६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनको प्रतिवद्धता पत्रमा उम्मेवारी दिनुको कारणमा ‘पार्टीको अदुरदर्शी, अपारदर्शी र गलत नीतिलाई शुद्धिकरण गर्न’ भ्रष्टाचार, ढिलासुस्ती, उदासिनता र जनतालाई बेवास्ता गरेर अगाडि बढ्ने प्रवृतिलाई निरुसात्हित गर्न’ भन्ने उल्लेख छ ।
दलहरूको हैकमबादको अन्त्य र जनचाहनाको सम्मान गर्न पनि उम्मेदवारी बनेको प्रतिवद्धतापत्रमा उनले उल्लेख गरेका छन् । सुनसरी क्षेत्र नं. १ को गुमेको साख फर्काउन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई देशकै उत्कृट शिक्षण अस्पताल बनाउने, शिक्षाको केन्द्रका रुपमा विकास गर्ने, व्यापारिक सहरका रुपमा विकास गर्ने, सबैलाई बास र स्वाभिमान, मेरो अभियान लागू गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा क्षेत्र नं. १ मा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटनलगायतलाई प्रोत्साहन गर्ने उल्लेख छन् ।