मेचीनगरः बथानबाट एक्लिएको हात्तीको एउटा छावालाई सोमबार मेचीनगरबाट उद्धार गरिएको छ ।
भारतबाट आइतवार नेपाल पसेको करीव आठ महिनाको सो छावा मेचीनगरको वडा नं ४,६ र ७ का विभिन्न स्थानमा डुल्ने गरेको थियो ।
सोमबार बन कर्मचारी र स्थानीय बासिन्दाले सो छावालाई मेचीनगर–७ गोमनसरीबाट नियन्त्रणमा लिएर मेचीनगर–४ स्थित दशगजामा भारतीय बन कार्यालयका कर्मचारीहरुलाई बुझाएका छन् ।
उद्धारको पहलकर्ता मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार धानबारीमा डुलिरहेको अवस्थामा सोमबार दिउँसो १ बजे छावालाई उद्धार टोलीले नियन्त्रणमा लिएको थियो भने अपरान्ह ४ बजेतिर भारतीय बन कार्यालयका कर्मचारीलाई जिम्मा लगाइएको थियो ।
नियन्त्रणमा लिइएको हात्तीको छावालाई मिनी ट्रकमा हालेर दशगजासम्म पुर्याइएको थियो । बथानबाट अलग्गिएको छावा बिगत १२ दिनदेखि उसको बथानमा मिसाउन भारतीय बन कर्मचारीहरुले प्रयास गरिरहेका बेला भागेर नेपाल पसेको वडाध्यक्ष कार्कीले भारतीय बन अधिकारीलाई उद्धृत गर्दै बताए ।
आइतवार बाहुनडाँगीमा देखा परेको सो छावालाई उद्धारका लागि कोशी टप्पु बन्यजन्तु आरक्ष र डिभिजन बन कार्यालय झापाको टोली समेत परिचालन भएको थियो । उद्धार कार्यका स्थानीय नुतन कार्की लगायतको टोली खटिएको थियो ।
जथाभावी गाउँ र बालीमा पस्ने गरेका कारण छावालाई मानिसले कुटेर मार्ने सम्भावना बढेपछि सुरक्षाका लागि उद्धारगरेर भारतीय बन कर्मचारीहरुलाई बुझाइएको कार्कीले बताए ।रासस