इटहरीः झापाको मेचिनगर नगरपालिका – ९ स्थित लिला बस्तिको लिला चोकमा लागूऔषध ब्राउनसुगरको अवैध कारोबार गर्ने दुई जनालाई नगद र ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मेचिनगर नगरपालिका – १ बस्ने २६ वर्षीय सरोज भुजेल र सोही स्थानका ३५ वर्षीय निर्मल भुजेल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो दिनको ३ः३० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउनसुगर कारोबार गर्न लागेको अवस्थामा फेला पारी खानतलासी गर्दा झोलाभित्र लागूऔषध ब्राउनसुगर ३४ ग्राम र नेपाली २ लाख ५१ हजार रुपैयाँ फेला पारेपश्चात् उनीहरुले प्रयोग गरेको मे.४ प ४०९७ र मे६प ३२१३ नम्बरको दुई वटा मोटरसाइकलसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।