इटहरीः भोटेकोशी बाढीको एक महिनामै देशले अर्को ठुलो विपत्को सामना गर्नुपरेको छ । बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोले विभिन्न जिल्लामा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ । तीन दिनको बाढी पहिरोमा २४ जनाको मृत्यु भएको र १४ जना बेपत्ता भएका छन् । बाढीले तराईका केही जिल्लामा डुबान र कटान गरेको छ ।
बाढी पहिरोले मनाङ, म्याग्दी, बागलुङ, पर्वत, पाल्पालगायत जिल्लामा ठुलो क्षति पुर्याएको छ । आइतबार राति अबेरसम्म खोज तथा उद्धार जारी रहेकाले सम्पूर्ण विवरण आइसकेको छैन ।
गण्डकीका बागलुङमा १०, म्याग्दीमा ६ र मनाङमा दुई तथा लुम्बिनीको पाल्पामा पाँचजनाको ज्यान गएको छ । त्यस्तै, पहिरोमा परेर धनुषाको मिथिला नगरपालिका– १० आँपगाछीमा एकजनाको मृत्यु भएको छ । यो बिहीबारयताको तथ्यांक हो ।
बाढी–पहिरो प्रभावित जिल्लामा १४ बेपत्ता छन् । मनाङमा १०, म्याग्दीमा ३ र बाग्लुङमा १ जना बेपत्ता रहेको प्रहरी तथ्यांक छ । त्यस्तै, लम्जुङमा २ तथा बाग्लुङ र म्याग्दीमा १–१ जना घाइते भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालि कालीगण्डकी नदीले धेरै क्षति पुर्याएको छ । त्यस्तै, नारायणी र तिनाउ खोलाले पनि कटान र डुबान गरेको छ । बाढी र पहिरोबाट ७४७ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ । १४३ घर पूर्ण रूपमा र ५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
गण्डकीमा १८ को मृत्युगण्डकी प्रदेशमा मात्रै १८ जनाको मृत्यु भएको छ भने १४ बेपत्ता छन् । यो पछिल्लोपटक पानी पर्न थालेको बिहीबारयताको तथ्यांक हो । बागलुङमा एकै परिवारका चारसहित १०, म्याग्दीमा ६ र मनाङमा दुईजनाको ज्यान गएको हो । प्रदेशका विभिन्न जिल्लामा गरी ४३० घरका गरी एक हजार पाँच सयजना विस्थापित भएका छन् ।
बागलुङको निसीखोला गाउँपालिका– ३ स्थित श्यामकुमारी विकको घर पहिरोमा पुरिँदा उनीसहित छोराहरू १२ वर्षका मनोज विक, नौ वर्षका मुकेश विक र पाँच वर्षका निसन विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । बिहान करिब ५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि घरमा सुतिरहेका उनीहरूसमेत पुरिएर मृत्यु भएको हो ।
त्यस्तै, म्याग्दीमा अन्नपूर्ण गाउँपालिका– ८, काफ्लेडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण– ३, फगामकी ५४ वर्षिया योमाया पाईजा र ७५ वर्षीया शिलकुमारी गर्बुजा, अन्नपूर्ण– ६, गिवाङका ५ वर्षीय जेनी पुर्जा, मालिका गाउँपालिका– ३, डाँडागाउका ३१ वर्षीय चिरण पुन र २८ वर्षीय देवबहादुर पुनको मृत्यु भएको छ । अन्नपूर्ण– ६, गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण– ८, काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका– ३ की कमारी विक बेपत्ता रहेको म्याग्दीका डिएसपी राजन कार्कीले बताए ।
त्यस्तै, आइतबारै मनाङमा दुईजनाको मृत्यु भएकोमा परिचय खुल्न बाँकी रहेको जिप्रका मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराले जानकारी दिए । वर्षापछि मनाङको नार्पाभूमि गाउँपालिका– ५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको र हिमाल आरोहणमा गएका नौ पर्वतारोही र १३ सहयोगी गरी २२ जनामध्ये दुईजनाको शव फेला परेको बोहराले जानकारी दिए । बाँकी १० जना नार्फाको फु गाउँमा सम्पर्कमा आएका र अन्य १० जनाको अवस्था अज्ञात रहेको उनले बताए । उनीहरूको खोजी एवं उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर परिचालन गरिएको भए पनि मौसम खराबीका कारण आइतबार खोजीकार्यमा अवरोध भएकाले सोमबार बिहानबाट उनीहरूको खोजी सुरु गर्ने उनले जानकारी दिए ।
मनाङको नासों गाउँपालिका– १, तालगाउँमा मस्र्याड्दी नदी र ठाडो खोलाको बहाबले १५–१६ घर तथा होटेलहरू डुबानमा परेका छन् । वर्षापछिको बाढी र पहिरोले गर्दा मनाङमा १० सँगै म्याग्दीमा तीन र बागलुङमा एकजना बेपत्ता भएका छन् । लमजुङमा दुई, बागलुङ र म्याग्दीमा एक–एक गरी चारजना घाइते भएका छन् । प्रदेशका १९५ घरमा पूर्ण, २६ घरमा आंशिक र २७० घर जोखिममा परेका छन् । बाढीपहिरोका कारण ४३५ घरका गरी एक हजार पाँच सयजना विस्थापित भएका छन् । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै भौतिक क्षति पर्वतमा भएको छ । पर्वतका १०६ घर पूर्ण र चार घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, १६२ घरका ५४० जना विस्थापित भएका प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी कोइरालाले जानकारी दिए ।
बाढीपहिरोका कारण ६ पुलमा पूर्ण र दुई पुलमा आंशिक क्षति पुगेको छ । तीन सरकारी कार्यालय पूर्ण र तीनमा आंशिक क्षति पुगेको छ । विभिन्न स्थानमा गरी १५ गोठमा पूर्ण र दुई गोठमा आंशिक क्षति पुगेको छ । गोठमा पुगेको क्षतिका कारण ४४ पशुको मृत्यु भएको छ । तीन दुईपांग्रे र १५ चारपांग्रे सवारीसाधनमा समेत बाढीपहिरोका कारण क्षति पुगेको छ ।
कालीगण्डकीको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ । वर्षाले एक–दुई दिन अघिदेखि नै पुलको आसपासमा क्षति पु¥याएकोमा आइतबार बिहान आएको बाढीले पुल बगाएको हो । पुल बगाएपछि दुई जिल्ला जोड्ने सडकमार्ग बन्द भएको छ । नदीमा पानीको बहाबसँगै सतह बढेपछि स्याङ्जाको बेल्टारीमा सञ्चालित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको मिर्मीस्थित बाँधका तीनवटै ढोका पूर्ण रूपमा खोलेर विद्युत् उत्पादन बन्द गरिएको छ ।
बाढीका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनमा पर्ने म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा रहेका २१ र २२ नम्बर टावरमा क्षति पुगेको छ । कुश्मा–नयाँ बुटवलखण्डको प्रसारणलाइनमा समेत समस्या आएपछि जोडिएका ३५८।२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । नीलगिरि, राहुघाटलगायत विभिन्न जलविद्युत् आयोजनामा बिजुली उत्पादन अवरुद्ध भएको हो ।
कालीगण्डकीको बाढी बस्तीमा पसेपछि पर्वतको जलजला गाउँपालिका– ८, फसेका २५ घर बगाएको छ । नदीको बहाब बढेर बस्तीमा पसेसँगै रहेका ८० घरमध्ये २५ वटा घर बाढीले बगाउँदा अन्य घरहरू उच्च जोखिममा रहेका छन् । यसैगरी बाढीका कारण पर्वतको बिहादी गाउँपालिका– ६ तर्फ ३०, स्याङ्जाको गल्याङ नगरपालिका– ५ तर्फका २० घरसमेत डुबानमा परेका छन् ।
गोरखाको सहिद लखन गाउँपालिका– ३ सिलिङटारस्थित सिलिङटार र पृथ्वी राजमार्ग जोड्ने सिलिङटारको झोलुंगे पुल त्रिशूली नदीमा पानीको सतह बढेसँगै मानिस आवतजावत गर्न नमिल्ने अवस्थामा पुगेको छ । वर्षाका कारण चुमनुब्री– ३, पैँयुमा पहिरो खस्दा लार्के सडकसमेत अवरुद्ध भएको छ ।
स्याङ्जाका विभिन्न स्थानमा ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका– १०, बायोडाँडास्थित चापाकोट–मिर्दी सडकखण्डमा माथिबाट पहिरो खसेको छ । त्यस्तै, गल्याङ नगरपालिका– ३ चिन्नेपानीमा सिद्धार्थ राजमार्गमा सडकभन्दा माथिबाट पहिरो खसेको, राजमार्गको तिनधारे, बसपार्क, बर्जा, बगालेथोकस्थित सडकखण्डमा लगातार माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएकोमा हाल एकतर्फी नियमित भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ घान्द्रुकस्थित प्रहरी चौकीको माथिबाट ढिस्को खस्दा चौकीको दायाँ साइडमा रहेको भवनको मेसिनरी वालसँगै ब्लक र टिनले बनेको दाउरा राख्ने र खाना बनाउन प्रयोग भएको टिनको छाप्रो पुरिएको छ । पहिरोले क्षति पु¥याएपछि चौकीमा रहेका ६ प्रहरी कर्मचारी स्थानीय मुससुभा आमा समूहको भवनमा बसेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।




















