इटहरीः धरान उपमहानगरपालिकामा शिक्षक नियुक्तिको माग गर्दै विद्यार्थीहरू आमरण अनसनमा बसेको घटनाका क्रममा आन्दोलनका अगुवा रोजन शंकरले फिनेल सेवन गरेको भनिएको विषयलाई लिएर स्थानीय राजनीतिक वृत्तमा आरोप–प्रत्यारोप सुरु भएको छ।
इटहरीका युवा नेता तथा साहित्यकार नवराज मैनालीले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे प्रश्न उठाउँदै फिनेल सेवनको घटना योजनाबद्ध हुनसक्ने आशय व्यक्त गर्दै प्रहरी प्रशासनबाट तत्काल छानबिन हुनुपर्ने माग गरेका छन्। मैनालीले आफ्नो स्टाटसमा रास्वपा कोशी प्रदेशका निवर्तमान कार्यवाहक सभापति सरिन(गोमा) तामाङ र पत्रकार सञ्चिता धमालाको नामसमेत उल्लेख गरेका छन्। यद्यपि, उनीहरूले घटनाको योजना बनाएको भन्ने आरोप पुष्टि गर्ने स्वतन्त्र प्रमाण सार्वजनिक भएको छैन।
मैनालीले धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाको कार्यकक्ष अगाडि विद्यार्थीहरू दुई शिक्षकको माग राखेर अनसन बसेको उल्लेख गर्दै शिक्षक माग गर्नु र पढ्न पाउनुपर्छ भन्नु सकारात्मक विषय भएको बताएका छन्।

तर, आन्दोलनका क्रममा रोजन शंकरले फिनेल सेवन गरेको घटनाबारे आफूले सुनेका विवरणप्रति प्रश्न उठाउँदै मैनालीले घटनाको वास्तविकता छानबिनबाट बाहिर ल्याउनुपर्ने बताएका छन्। उनले आफूलाई प्राप्त जानकारीका आधारमा घटनामा संलग्न व्यक्तिहरूको भूमिकामाथि समेत अनुसन्धान गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।
मैनालीले सामाजिक सञ्जालमा लेखेका छन् कि घटनाबारे बाहिरका बिरामीका कुरुवाहरूबाट आफूले विभिन्न दाबी सुनेको बताएका छन्। साथै, उनले आफ्ना मित्र गोपाल दाहालको स्टाटसप्रति असन्तुष्टि जनाउँदै घटनालाई राजनीतिक प्रतिस्पर्धासँग जोडेर हेर्न नहुने धारणा राखेका छन्।
उनले धरानका पूर्वमेयर हर्क साम्पाङलाई लक्षित गर्दै शिक्षकको समस्या लामो समयदेखि रहेको भन्दै यस विषयमा सदनमा कति पटक आवाज उठाइएको छ भन्ने प्रश्नसमेत गरेका छन्। विद्यार्थीको मागलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम नबनाउन उनले सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
तामाङको प्रतिवाद : ‘तथ्य र भाषा दुवै पुर्याएर लेख्नुहोस्’
मैनालीको स्टाटसपछि रास्वपा कोशी प्रदेशका निवर्तमान कार्यवाहक सभापति सरिन तामाङले पनि सामाजिक सञ्जालमार्फत प्रतिवाद गरेकी छन्।
तामाङले मैनालीलाई सम्बोधन गर्दै लेख्दा तथ्य र भाषा दुवैमा ध्यान दिन आग्रह गरेकी छन्। आफूले विद्यार्थीहरू अनसनमा बसेको जानकारी पाएदेखि नै धरानका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघालाई सामाजिक सञ्जाल र फेसबुक लाइभमार्फत जिम्मेवार बन्न तथा जिम्मेवारीबाट नभाग्न पटक–पटक आग्रह गरेको उनको दाबी छ।

उनका अनुसार पहिलो दिन नै उनले कार्यवाहक मेयर, आफ्नो चिनजानका व्यक्ति तथा सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक फोन गरी तत्काल पालिकामा आएर समस्या समाधानका लागि सहजीकरण गर्न आग्रह गरेकी थिइन्।
प्रधानमन्त्री कार्यालयबाट समेत फोन आएको अवस्थामा आफूले कार्यवाहक मेयरलाई समस्या समाधानका लागि सहजीकरण गरिदिन अनुरोध गरेको तामाङको भनाइ छ।

तामाङले राति करिब १२ बजेतिर सहमति बन्न लागेको अवस्थामा ताला खोल्ने विषयमा सहमति तोडिएको दाबी गर्दै त्यसको जिम्मेवारीसमेत सम्बन्धित पक्षले लिनुपर्ने बताएकी छन्।
‘तीन वर्षदेखि शिक्षक नियुक्ति नहुँदा प्रश्न उठाउनेलाई दोषी देखाउने ?’
तामाङले धरानमा तीन वर्षदेखि शिक्षक नियुक्ति हुन नसक्दा समस्या उत्पन्न भएको दाबी गर्दै त्यसको जिम्मेवारीबारे प्रश्न उठाउनुपर्ने समयमा आफूहरूलाई नै दोषी देखाउन खोजिएको आरोप लगाएकी छन्।
उनले शैक्षिक नियुक्ति विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले त्यसलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने बताएकी छन्।
“वर्षौँसम्म विद्यार्थीले पाउनुपर्ने शिक्षक र शिक्षाको अधिकारबाट वञ्चित गराउने अनि उल्टै ठूलो कुरा गर्ने नैतिक आधार कहाँबाट आयो?” भन्ने प्रश्न गर्दै तामाङले शैक्षिक नियुक्ति, दरबन्दी, सरुवा तथा बढुवामा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
फिनेल रोजनसम्म कसरी पुग्यो ? तामाङको प्रश्न
रोजन शंकरले फिनेल सेवन गरेको भनिएको घटनाबारे तामाङले पनि छानबिनको माग गरेकी छन्।
उनले आफू घटनास्थलमा पुगेपछि ‘नवीन राई विचार विमर्श’को अन्तर्वार्ता भइरहेको समयमा रोजनले छेउबाट फिनेल निकालेर मुखमा हालेको देखिएको दाबी गरेकी छन्। त्यसपछि आफूहरू केही समय अलमलमा परेको र सकेसम्म उनको मुखबाट फिनेल निकाल्ने प्रयास गरेको उनले बताएकी छन्।
रोजन बेहोस भएपछि मानवताको नाताले उनलाई अस्पतालको इमर्जेन्सीमा पुर्याइएको तामाङको दाबी छ।

तर, तामाङले पनि घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै प्रश्न गरेकी छन्—‘फिनेल रोजनसम्म कसरी आयो, कसले दियो?’
उनले फिनेल सेवनको घटनाबारे अनुसन्धानसँगै धरानका कार्यवाहक मेयर बेघाको भूमिकामाथि पनि गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन्।
‘समस्या राख्ने जनताबाट जनप्रतिनिधि भाग्नु हुँदैन’
तामाङले जनताले समस्या राख्दा जिम्मेवार जनप्रतिनिधि जनताकै बीचमा बसेर समाधान खोज्नुपर्ने धारणा राखेकी छन्।
उनका अनुसार आफूले कार्यवाहक मेयरलाई विद्यार्थीको आन्दोलनमा मात्र नभई अन्य आन्दोलनका क्रममा पनि जिम्मेवार बन्न निरन्तर सुझाव दिँदै आएकी छन्।
राजनीतिमा आलोचना सुन्न सक्ने क्षमता नेतृत्वमा हुनुपर्ने बताउँदै उनले गलत सल्लाह दिने व्यक्तिहरूको घेराबन्दीमा बसेर जनताको आवाजबाट टाढिँदै जाने हो भने राजनीतिमाथि नै प्रश्न उठ्ने उल्लेख गरेकी छन्।
‘संलग्नता प्रमाणित भए कानुनी कारबाही भोग्न तयार छु’
तामाङले फिनेल प्रकरणमा आफ्नो संलग्नता रहेको प्रमाण भेटिए कानुनी कारबाही भोग्न तयार रहेको घोषणा गरेकी छन्।
उनले फिनेल सेवनका लागि आफूले उक्साएको फोन कल, म्यासेज वा च्याट भेटिए कानुनी कारबाही भोग्न तयार रहेको बताउँदै घटनामा दोषी देखिने जोसुकैलाई कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेकी छन्।
यससँगै उनले कार्यवाहक मेयरको भूमिकामाथि पनि छानबिन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।
धरानमा शिक्षक नियुक्तिको माग गर्दै विद्यार्थीहरूले थालेको आन्दोलन, रोजन शंकरले फिनेल सेवन गरेको भनिएको घटना तथा त्यसपछि सार्वजनिक भएका आरोप–प्रत्यारोपले घटनालाई थप राजनीतिक बहसको विषय बनाएको छ। यद्यपि, फिनेल सेवनको स्रोत, घटनाको पृष्ठभूमि, कसैले उक्साएको वा योजनाबद्ध रूपमा घटना गराइएको हो/होइन भन्ने विषयमा आधिकारिक अनुसन्धानको निष्कर्ष सार्वजनिक हुन बाँकी छ। त्यसैले सामाजिक सञ्जालमा आएका आरोप र दाबीलाई प्रमाणित तथ्यका रूपमा नभई सम्बन्धित व्यक्तिहरूका भनाइका रूपमा लिनुपर्ने देखिन्छ।




















