इटहरीः इटहरी उपमहानगरपालिकाको योजना शाखाका इन्जिनियर भवेन्द्र चौधरीले वडा नम्बर ९ मा कार्यरत महिला प्राविधिक कर्मचारी एलिना अधिकारीलाई कुटपिट गरेको आरोपपछि सुरु भएको विवाद थप पेचिलो बनेको छ। पीडित अधिकारीले इन्जिनियर चौधरीविरुद्ध दिएको मुद्दा फिर्ता लिन उपमेयर संगीता चौधरीले आफूलाई दबाब दिएको आरोप लगाएकी छन्।
अधिकारीका अनुसार आइतबार कार्यालय बिदाको दिन उपमेयर चौधरीले उनलाई आफ्नै कार्यकक्षमा बोलाएर छलफल गरेकी थिइन्। छलफलमा कुटपिटमा संलग्न भनिएका इन्जिनियर चौधरीका अभिभावक तथा आफन्तसहित वडा नम्बर ९, १२ र १६ का वडाध्यक्ष तथा केही कार्यपालिका सदस्यसमेत सहभागी थिए।
अधिकारीले उपमेयरले प्रत्यक्ष रूपमा मुद्दा फिर्ता लिन नभने पनि घुमाउरो शैलीमा आफू र इन्जिनियर चौधरीबीच मिलापत्र गराउन दबाब दिएको दाबी गरेकी छन्।
उनका अनुसार उपमेयरले केही प्राविधिक कर्मचारीले फोन गरेर सामान्य विवादका कारण मुद्दा चलेपछि भविष्यमा कसरी काम गर्ने भन्ने गुनासो गरेको बताउँदै आफूलाई सरुवा गरिदिने तर दुवै पक्ष मिल्नुपर्ने धारणा राखेकी थिइन्।
अधिकारीले भनिन्, “उपमेयर पनि महिला नै हुनुहुन्छ। महिला कर्मचारीमाथि भएको अन्यायविरुद्ध बोल्नुहुन्छ र मलाई सहयोग गर्नुहुन्छ भन्ने सोचेकी थिएँ। तर उल्टै मलाई र मेरो श्रीमान्लाई घुमाउरो तरिकाले दबाब दिने काम भयो।”
अधिकारीका अनुसार छलफलका क्रममा उपमेयरले इन्जिनियर चौधरीलाई खोजेर ल्याई माफी माग्न लगाउने तर आफूले पनि मिल्नुपर्ने र त्यसका लागि कागज गर्नुपर्ने आशय व्यक्त गरेकी थिइन्।

अधिकारीले आफ्नो बच्चा अटिजमको समस्या भएकाले वडा नम्बर ३ मा सरुवा गरिए पनि त्यहाँ गएर काम गर्न नसक्ने अवस्था रहेको कुरा उपमेयरलाई स्पष्ट रूपमा जानकारी गराएको बताइन्। सरुवासम्बन्धी विषय र आफ्नो पारिवारिक अवस्थाबारे समेत आफूले उपमेयरलाई जानकारी गराएको उनको भनाइ छ।
‘उपमेयरले सहयोग गर्ने उद्देश्यले छलफल गराउनुभएको हो’
तर उपमेयर संगीता चौधरीले भने आफूले अधिकारीलाई कुनै प्रकारको दबाब नदिएको दाबी गरेकी छन्।
उनका अनुसार कुटपिटको घटना सार्वजनिक भएपछि इन्जिनियर चौधरीका बुवा तथा परिवारका अन्य सदस्यहरूले आफूलाई पटक–पटक फोन गरेर घटना र त्यसपछिको अवस्थाबारे गुनासो गरेका थिए। चौधरी परिवारका सदस्यहरू सम्पर्कविहीन भएको भन्दै गुनासो आएपछि दुवै पक्षलाई बोलाएर घटनाबारे बुझ्ने काम मात्र गरेको उपमेयरको भनाइ छ।
उपमेयर चौधरीले आफू महिला भएकाले महिला कर्मचारीमाथि भएको कुटपिटको घटनालाई गम्भीर रूपमा लिएको र अधिकारीलाई सहयोग गर्ने उद्देश्यले छलफलमा बोलाएको बताइन्।
उनले भनिन्, “मैले कुनै दबाब दिएको छैन। घटना कानुनी प्रक्रियामा गइसकेको छ। कानुनी रूपमै यसको समाधान होस् भन्ने मेरो पनि चाहना हो।”
उपमेयरका अनुसार अधिकारीले आफ्नो बच्चालाई अटिजम भएको कुरा आफूलाई पहिले नै जानकारी नगराएको बताएकी थिइन्। आफूले उक्त विषयमा समेत सहयोग गर्ने आश्वासन दिएको उनले बताइन्।
वडाध्यक्ष थापा भन्छन्– ‘उपमेयरको मनसाय सहयोग गर्ने थियो’
इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापाले पनि उपमेयरको कार्यकक्षमा भएको छलफलमा आफू सहभागी भएको पुष्टि गरेका छन्।
उनका अनुसार छलफलका क्रममा उपमेयरले आफू कार्यवाहक मेयर भएका बेला समेत घटना भएलगत्तै जानकारी नगराएको विषयमा दुःखेसो व्यक्त गरेकी थिइन्।
थापाका अनुसार उपमेयरले केही प्राविधिक कर्मचारीले फोन गरेर कर्मचारीहरूबीचको विवाद र त्यसपछि काम गर्न कठिनाइ भएको गुनासो गरेको बताएकी थिइन्।
तर उक्त छलफलमा उपमेयरले अधिकारीलाई नै सहयोग गर्ने आशयले आफ्ना कुरा राखेको थापाको दाबी छ।
सरुवाको विषय पनि विवादमा
घटनासँगै वडा नम्बर ९ मा कार्यरत प्राविधिक कर्मचारी एलिना अधिकारीको सरुवाको विषयसमेत विवादमा आएको छ।
इटहरी उपमहानगरपालिकाका कर्मचारी प्रशासन शाखा प्रमुख संजीव खड्काका अनुसार अधिकारीसहित चार जना कर्मचारीको सरुवा भदौ १ गते गरिएको हो। उनका अनुसार वडा नम्बर ९ का वडाध्यक्ष र सचिवसँग मौखिक रूपमा सरुवाका विषयमा कुराकानी गरेर प्रक्रिया अघि बढाइएको थियो।
वडाध्यक्ष जितेन्द्र थापाले भने आफूलाई सरुवाबारे जानकारी नभएको र समयसमेत नभएको बताउँदै आएको विषयमा प्रश्न गर्दा खड्काले भने, “वडाध्यक्षले तपाईंहरूलाई के भन्नुहुन्छ, त्यो मलाई जानकारी भएन। तर उहाँसँग एलिनाको सरुवाका विषयमा राम्रोसँग कुराकानी भएकै हो।”
उनले एउटै प्रक्रियाअन्तर्गत चार जनाको सरुवा भएको भन्दै अन्य तीन जना सरुवा भएर जाने तर एक जना कर्मचारी मात्र नजाने अवस्था उपयुक्त नहुने बताए।
खड्काका अनुसार अधिकारीले सरुवा पत्र बुझे पनि नयाँ जिम्मेवारीमा हाजिर नभई बसेकी थिइन्।
उनले भने, “भदौ १ गते नै सरुवा गरिएको हो। उहाँले सरुवा पत्र बुझेर पनि अटेर गरेर बस्नुभयो। वडाध्यक्षले सरुवा भएका कर्मचारीको सरुवा रोक्न हाकिमसम्म दबाब दिने हो भने कर्मचारी प्रशासन कसरी चलाउने?”
‘भवेन्द्रविरुद्ध घुससम्बन्धी उजुरी आएको छैन’
कर्मचारी प्रशासन शाखा प्रमुख खड्काले इन्जिनियर भवेन्द्र चौधरीमाथि इटहरी उपमहानगरपालिकाको काममा अन्य प्राविधिक कर्मचारीको नाममा घुस लिएको सम्बन्धमा प्रशासनमा कुनै उजुरी वा गुनासो नआएको बताए।
उनले चौधरीले इटहरी उपमहानगरपालिका बाहिरका केही कन्सल्टेन्सीमा घरनक्सासम्बन्धी काम गर्ने गरेको जानकारी आफूलाई नभएको पनि बताए।
“नगरपालिकाको कर्मचारी भएर बाहिर त्यसरी काम गर्ने छुट छैन। त्यस्तो प्रमाणसहित उजुरी आए कर्मचारी प्रशासनले आवश्यक कारबाही गर्छ,” खड्काले भने।
घटना सार्वजनिक भएपछि नगर प्रशासनले पनि छलफल गरेको दाबी
खड्काका अनुसार घटना सञ्चारमाध्यममा आएपछि इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित बसेर पीडित भनिएकी प्राविधिक कर्मचारी अधिकारीसँग घटनाबारे छलफल गरिएको थियो।
कानुनी प्रक्रिया अघि बढिसकेकाले त्यसको छिनोफानो पहिले कानुनी प्रक्रियाबाटै हुन दिने र आवश्यक परे नगर प्रशासनले आन्तरिक रूपमा समेत छानबिन गरी कारबाही गर्न सक्ने विषयमा छलफल भएको उनले बताए।
खड्काले अधिकारीले घटना भएलगत्तै नगर प्रशासन र सम्बन्धित वडा कार्यालयलाई जानकारी नगराएको दाबी पनि गरेका छन्। उनका अनुसार घटनाको दुई दिनपछि मात्र नगर प्रशासनले घटनाबारे जानकारी पाएको थियो।
अधिकारी भने कुटपिटका कारण दुवै कानमा चोट लागेर दुखाइ बढेपछि दुई दिन अस्पतालमा बसेको बताएकी छन्।
खड्काले उपमेयरले सञ्चारमाध्यममार्फत घटना सार्वजनिक भएपछि पीडित र आरोपित पक्षका आफन्तलाई बोलाएर घटनाबारे बुझ्नु सामान्य प्रशासनिक चासोको विषय भएको बताए।
‘मेडिकल रिपोर्ट नै फेक हो’ भन्ने आरोप
यसैबीच कुटपिटमा संलग्न भनिएका इन्जिनियर चौधरीका आफन्तहरूले अधिकारीले आफू बिरामी भएको देखाउन नक्कली कागजात बनाएको आरोप लगाएका छन्।
आफन्तहरूले फोनमार्फत घटना सञ्चारमाध्यममा आएजस्तो नभएको दाबी गर्दै अधिकारीले चिकित्सकसँग मिलेर नक्कली मेडिकल रिपोर्ट बनाएको र त्यसको प्रमाण आफूहरूसँग रहेको दाबी गरेका छन्।
तर अधिकारीले भने आफूले उपचार गराएको स्वास्थ्य संस्थाको रिपोर्टलाई नक्कली भनिएकोमा आपत्ति जनाएकी छन्।
उनले “वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कसरी फेक कागजात दिन्छ?” भन्दै आफ्नो उपचारसम्बन्धी कागजात नक्कली भएको प्रमाणित गर्न चुनौती दिएकी छन्।
“मलाई कुटपिट गरेको र उपचारका लागि दुई दिन अस्पताल बसेको प्रमाण फेक हो भन्ने प्रमाणित गरुन्। म जस्तोसुकै कानुनी कारबाही भोग्न तयार छु,” अधिकारीले भनिन्।
घटना बारे सुनेको मात्र छु विस्तृत बुझ्न बाँकी छः मेयर पौडेल
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आफु दिल्ली गएका बेला भदौ २५ गते ९ नम्बर वडाकी महिला प्राविधिक कर्मचारी इन्जिनियर भवेन्द्र चौधरीबाट कुटिएको सुन्नमा आएको तर घटनाबारे विस्तृत रुपमा बुझ्न नपाएको बताए ।
कांग्रेसको महाधिवेशनका कारण कार्यालय बािहर भएकाले विस्तृत रुपमा आफुले बुझ्न नपाएको मेयर पौडेलले बताए । उनले भने अब म भोली कार्यालय जान्छु, त्यसपछि यो घटना बारे गम्भिर रुपमा बुझ्ने काम गर्ने छु । मेयर पौडेलले भने तपाई ढुक्क हुनुहोला म त्यसखालको अन्याय कुनै कर्मचारीमाथि हुन दिने छैन् ।




















