धरानः सुनसरीको धरानमा साउन १४ गतेदेखि लगाइने भनिएको कोरोना विरुद्धको अमेरिकी जोनसन एन्ड जोन्सन खोप लगाउने कार्य केही समयको लागि स्थगित भएको छ ।
साउन १४, १५ र १६ गते तीन दिनसम्म कोरोना विरुद्धको खोप जोनसन लगाइने भनिएको थियो । मेयर तिलक राईका अनुसार भोलिदेखि लगाइने भनिएको जोनसन एन्ड जोन्सन खोप जिल्ला स्वास्थ्य कार्यालयमा आई नपुगेका कारण स्थगित गनुपरेको हो । मेयर राईले अब जिल्ला स्वास्थ्य कार्यालयमा खोप आइपुगेपछि मात्र धरानमा जोनसन एन्ड जोन्सन खोप लगाइने जानकारी दिए । उनका अनुसार जोनसन एन्ड जोन्सन खोप धरानमा ५ हजार डोज आउने छ । आउँदो आइतबारसम्ममा खोप आइपुग्ने बताइएको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार खोप धरान आइपुगेपछि ५० वर्षदेखि ५४ वर्ष उमेर समुहका मानिसलाई लगाइने छ ।
साथै, जोनसन एन्ड जोन्सन खोप अतिअशक्त अपाङ्गता भएका नागरिकहरु, स्वास्थ्य सँस्थामा कार्यरत छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई पनि लगाइनेछ । यस्तै, साउन १२ गतेदेखि लगाउन सुरु गरिएको चिनियाँ भेरोसेल खोप आज सकिएको छ । स्वास्थ्य महाशाखाका अनुसार १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियानबाट धरानमा ११ हजार नागरिहरुले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । पहिलो दिन दुई हजार नौ सय पाँच, दोश्रो दिन पाँच हजार दुई सय र तेस्रो दिन (आज) दुई हजार आठ सय ७४ जनाले खोप लगाएका छन् । धरानमा सात स्थानमा खोप केन्द्र तोकिएको थियो । जोनसन एन्ड जोन्सन खोप आइपुगेपछि सुचना जारी गरेर सोही खोप केन्द्रमा लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।