इटहरीः दशक अघिसम्म पानवारी मन्सुली चामल उत्कृष्ठ ब्राण्ड बनेको थियो । तत्कालिन अवस्थामा साविकको पाँचकन्या गाविसको पानवारीमा उत्पादन हुने पानवारी मन्सुली चामल धरान मात्र होइन, पूर्वका झापा, मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय प्लटिङका कारण खेतियोग्य जमिन मासिँदै गएपछि अन्य ठाउँमा उत्पादन हुने चामललाई पानवारी मन्सुली भनेर ब्राण्डिङ गरी बिक्री हुने गरेको छ ।
हालको धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानवारी क्षेत्र धान उब्जनी हुने मुख्य कृषि क्षेत्र हो । पानवारी मुलुककै दोस्रो कृषि उर्वरभूमि भनेर कृषि मन्त्रालयले सूचीकृत गरेको क्षेत्र हो । पहाडबाट बगेर आएको पानी र बलौटे माटोमा उत्पादन भएको चामल स्वाष्टि हुने भएकाले पनि पानवारीको उत्पादनहरु ब्राण्डिङ भएका थिए । पानवारी ब्राण्डको चामल उत्पादन हुने क्षेत्रमा एकातिर प्लटिङले खेतियोग्य जमिन मासिँदै गएको छ, भने अर्कोतिर विभिन्न प्रजातिका धान लगाउन थालेपछि पानवारी मन्सुलीको ब्राण्ड हराउँदै गएको छ । पानवारीमा करिब ६ सय ३० बिघा अर्थात ४ सय १० हेक्टर क्षेत्रफल खेतियोग्य भूमि थियो । साविक पाँचकन्या गाविस धरान उपमहानगरपालिकामा गाभिएपछि भने जग्गा व्यापार मौलायो । प्लटिङले उर्वर भूमि बाँझो छोड्ने क्रम बढेको छ । वर्षौँदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै घडेरीमा परिणत हुन थालेपछि धरानमा धान खेति पनि बिस्तारै लोप हँुदै गएको छ । जिल्लाका पहाडी क्षेत्रमा रहेका साविक विष्णुपादुका, पाँचकन्या गाविसका मुख्य खेति नै धानबाली थियो ।
१० वर्ष अघिसम्म एक किसानले कम्तिमा ३ बिघाको क्षेत्रफलमा धानबाली लगाउँथे । अहिले बढीमा १० कट्ठाको क्षेत्रफलमा मात्र रोपाइँ हुने गरेको छ । धान फल्ने जमिनहरु मासेर बस्ति बस्न थालेपछि खेति गर्ने जग्गा नै नरहेको स्थानीय कृषक डम्बर देवान बताउँछन् । कृषि उत्पादनमा उत्कृष्ट रहे पनि प्लटिङले उत्पादनको क्षेत्रफल घटाइरहेको मानबहादुर योञ्जन बताउँछन् । उनले भने, ‘पहिलेको तुलनामा त अहिले अनुमान नै गर्न सकिँदैन, धेरै घटेको छ ।’ पानवारीमा १२ किसिमका धानको खेति हुने गरेको थियो । पानवारीमा उत्पादन भएको धानले झापा, मोरङ र सुनसरीलाई नै धानेको थियो । धान खेतिमा उत्कृष्ट भएकाले राष्ट्रिय पुरस्कारहरु समेत हात पारेको थियो । तर पछिल्लो समय प्लटिङकै कारण घर, घडेरीमा परिणत हुन थालेपछि कृषि क्षेत्र मासिँदै गएको पूर्वगाविस अध्यक्ष रमेश बस्नेत बताउँछन् । उनका अनुसार १ सय १० वर्ष अघिदेखि आवादी रहेको पानवारीमा २०४९÷५० सालदेखि सबै क्षेत्रमा खेति गर्न थालिएको हो । पछिल्लो समय खेतियोग्य जमिनहरु घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको उनले बताए ।
अहिले भूउपयोग नीतिको विषयमा स्थानीय तहहरुमा छलफल भइरहेको छ । पानवारीलाई पनि कृषि क्षेत्रकै रुपमा विकास गर्नुपर्ने सुझावहरु आउन थालेको उनले बताए । उनले भने, ‘केहीले आवास क्षेत्रको रुपमा ल्याउनुपर्ने भनिरहेका छन्, अहिले फेरि यो लकडाउनका कारण कृषिको प्रत्याभूति भएपछि कृषि क्षेत्रमा ल्याउनुपर्छ भन्न थालेका छन्, यहाँँको पानी, उत्पादन शक्ति अति राम्रो भएकाले पनि यस क्षेत्रलाई कृषि क्षेत्रकै रुपमा विकास गर्नुपर्छ ।’ धरानका ४, ५, ६, १७ र २० नम्बर वडालाई संघीय सरकारको नीति तथा कार्यक्रममा कृषि जोनको रुपमा विकास गर्ने भन्दै बजेट विनियोजन गरेको छ । स्थानीय सरकारले पनि कृषि क्षेत्रको रुपमा संरक्षण गर्ने जनाएको छ । स्थानीयका अनुसार पानवारीमा अहिले खेतियोग्य जमिन रहेको क्षेत्रमा पनि ६० प्रतिशत मात्र धानखेति हुने गरेको छ । २० प्रतिशत क्षेत्र त्यसै बाँझो रहेको छ भने बाँकी २० प्रतिशतमा प्लटिङको तयारी भइरहेको समाचार आजको कोशीपत्र दैनिकमा प्रकाशित भएको छ ।