सुनसरी : इटहरीमा अटिजम बिरामी बालकमाथि केयर सेन्टरकै कर्मचारीबाट कुटपिट भएको छ । इटहरी उप–महानगरपालिका वडा नं. २ स्थित प्रेरणा केयर सेन्टर प्रा.लिमा भर्ना भएका इटहरी ५ का १७ वर्षीय सक्षम कोइरालामाथि सेन्टरका कर्मचारीले कुटपिट गरेका हुन ।
घटना साउन २३ गते शुक्रवार भएको बालकका आफन्तले बताएका छन् । साउन १५ गते मात्र सेन्टरमा भर्ना गरिएका बालकलाई सन्चो नभएको भन्दै सेन्टरबाट फोन आएपछि परिवार सेन्टर पुग्दा बालकको हात, ढाड, पाखुरा र तिघ्रामा चोटै चोट देखिएको थियो । अटिजम बिरामी भएकाहरूको स्वभाव अन्य बालबालिका भन्दा फरक हुने कारण स्याहार-सुसार राम्रो हुने भनेर सेन्टरमा भर्ना गरेको अवस्थामा सेन्टरकै एक महिला कर्मचारीले बालकमाथि निर्घात कुटपिट गरेको आफन्तहरूको दाबी छ । 
घटनापछि बालकलाई घर ल्याइएको र घटना छानबिनको लागि परिवारले इटहरी प्रहरीमा उजुरी समेत दिइएको अवस्था छ । अटिजम बिरामी भएको बालक थाहा हुँदा हुँदै फरक तरिकाले स्याहार र उपचार गर्नु पर्नेमा छोरालाई हात बाँधेर कुटपिट गरिएको बुवा शेखर प्रसाद कोइरालाले आरोप छ । 
‘केयर सेन्टरले बोलाएपछि हामी त्यहाँ पुगेका थियौ, तर छोराको अवस्था दयनीय थियो । दिशा पिसाबमा लतपतिएको छोरा देखेपछि हामी स्तब्ध भयौ’ कोइरालाले भने ‘छोरा बिरामी छ उपचार गर्नुपर्छ भन्दा शरीरमा चोट र नीलडाम भेटायौ ।’  बाँधेर राखेपछि दिशा पिसाब एकै ठाउँ भएको रहेछ, यो अतिचार गरेको हैन र ?  उनले प्रश्न गरे । 
यता, कुटपिट गर्ने प्रेरणा केयर सेन्टरका सञ्चालक चूडामणि निरौलाले सेन्टरभित्र एक महिला कर्मचारीमाथि बालकले हात हालेको विषयमा लछारपछार भएको बताए । ‘बालकलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग भएको हो, पछि उनलाई अस्पतालमा प्रयोग हुने ‘हेण्डकफ’ लगाएर राखेका थियौ’ निरौलाले भने ‘पछि कर्मचारीले हात लगाउनु भएछ, त्यो गल्ती भयो ।’ 
 घटना नियत वश भएको हैन । रातको समयमा महिला नर्स र महिला कर्मचारीहरू मात्र रहेको अवस्थामा घटना हुन पुगेको र चोटपटक लागेको बालकको उपचार सेन्टरले बेहोर्ने निरौलाको भनाई छ । घटनापछि इलाका प्रहरी कार्यालय इटहरीमा आइतबार दुवै पक्षबिच छलफल भए पनि पीडित परिवारले सेन्टरलाई कानुनतः कारबाहीको माग गरेका छन् ।
घटना नियत वश भएको हैन । रातको समयमा महिला नर्स र महिला कर्मचारीहरू मात्र रहेको अवस्थामा घटना हुन पुगेको र चोटपटक लागेको बालकको उपचार सेन्टरले बेहोर्ने निरौलाको भनाई छ । घटनापछि इलाका प्रहरी कार्यालय इटहरीमा आइतबार दुवै पक्षबिच छलफल भए पनि पीडित परिवारले सेन्टरलाई कानुनतः कारबाहीको माग गरेका छन् ।  
                     
         
         
                            
                                                             
        




















 
         
         
         
         
         
         
        