इटहरी: नेकपा एमाले कोसी प्रदेश कमिटी सदस्य इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरीलाई पार्टीले कारबाही गर्ने भएको छ । 

आज र भोली बस्ने एमालेको कोसी प्रदेश कमिटीको बैठकले चौधरीलाई कारबाहीको निर्णय गर्ने एमाले कोसी प्रदेश कमिटी स्रोतले जनाएको छ ।

पार्टीको कोसी प्रदेश कमिटीले २०८१ मङ्सिर २० गते चौधरीसँग पार्टीको हित र नीति विपरीत हिँडेको जनाउँदै ७ दिनभित्रमा लिखित स्पष्टीकरण सोधिएकोमा हालसम्म नदिई बसेकोमा उनलाई कारबाही गर्न लागिएको हो ।
उनलाई पार्टीको खानेपानी तथा सरसफाइ विभागका कोसी सचिव रामप्रसाद चौलागाईलाई कात्तिक २७ गते साँझ बिभिन्न समयमा सामाजिक सञ्जाल र भ्वाईस मार्फत अभद्र तथा अशिष्ट गालीगलौज गरेको रेकर्ड प्राप्त भएको जनाउँदै लिखित स्पष्टीकरण मागेको थियो ।

चौलागाईलाई पार्टीको विधान,अनुशासन र सामाजिक मूल्यमान्यता विपरीत गालीगलौज गरेकाले के कति कारणले त्यसो गरिएको हो ? ५ दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न चौधरीलाई भनिएको थियो ।

चौधरीले लिखित स्पष्टीकरण नदिएपछि पार्टीको कोसी प्रदेश कमिटीको २०८१ चैत्र ९ गते बसेको सचिवालय बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गराइको थियो । पार्टीका कोसी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले चौधरीलाई २०८२ वैशाख २ गते पत्र काट्दै २०८१ मङ्सिर २० गते सोधिएको स्पष्टीकरण ७ दिन भित्रमा पेस गर्न अनुरोध गरेका थिए । 
a2629637-0235-4c3a-afe8-910df5f36bc4

पछिल्लो पटक पार्टीले स्पष्टीकरण पेस गर्नका लागि पठाएको पत्रको समय ३ महिना बितिसक्दा पनि अटेर गरेकाले उनलाई पार्टीले अनुशासनको कारबाही गर्न लागेको बुझिएको छ । पत्रलाई गम्भीरतापूर्वक नलिए पार्टी विधान अनुसार अनुशासनको कारबाही सिफारिस हुने चौधरीलाई पछिल्लो पटक पठाइएको पत्रमा चेतावनी समेत दिइएको थियो ।

पार्टीले कारबाही गर्ने भएपछि निवर्तमान मेयर चौधरीले जथाभाबी अभिव्यक्ति दिन सुरु गरेका छन् । उनले केही दिनअघि स्थानीय एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा इटहरीमा बजेट होलिडे आउनुमा सबैभन्दा ठुलो हात उपमेयर सङ्गीताकुमारी चौधरीको रहेको आरोप लगाएका थिए । उनले इटहरीवासीको हितमा भन्दा पनि उपमेयर चौधरीले व्यक्तिगतपाइँदाको कुरा गरेको र पुरा नहुँदा बहना वाजी गरेर बजेट होलिडे गराएको दाबी नै गरेका थिए ।

द्धारिकलाल चौधरीले नै २०७९ को निर्वाचनमा उपमेयर पदमा सङ्गीताकुमारीलाई अघि सारेका मात्र थिएनन्,सबैभन्दा बढी मत दिलाएर जिताएका पनि थिए । सङ्गीताले सबैभन्दाबढी मत ल्याउँदा मेयरका उम्मेदवार यामकुमार सुब्बाले निकै कम मत पाई काँग्रेस सहितको गठबन्धन मेयरका उम्मेदवार हेम कर्ण पौडेलले विजय हात पारेका थिए ।
a2dd9393-e365-4276-87c6-eabce155e70b

गत ३२ असारमा बजेट पास नभई होलिडेमा जान साथ इटहरी उपमहानगरपालिकाका मेयर पौडेलले एमालेका नेताहरूले भने जति बजेट नदिँदा इटहरी सरकार बजेट होलिडेको अवस्थामा पुगेको भन्दै आफ्नो आधिकारिक फेसबुकमा स्ट्याटस लेखेका थिए । उनले सो स्ट्याटस केही घण्टामै हटाएका थिए । मेयर पौडेलले स्ट्याटस मार्फत लगाएको आरोप र निवर्तमान मेयर चौधरीले लगाएको आरोप लगभग मिल्दोजुल्दो छ । जसले एमाले भित्र एउटा तरङ्ग ल्याउनुका साथै निर्वाचन ताका र पछि  निवर्तमान मेयर चौधरीले खेलेको भूमिका माथि धेरै शङ्काहरू पैदा भएको एमालेका युवानेताहरुको तर्क छ ।

पार्टीको अनुशासन आयोगबाट कारबाहीमा पर्ने सुईको पाएपछि चौधरीले भोली(श्रावण २८) गते इटहरीको इन—टुरिस्ट प्यालेस होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनी निकट स्रोतका अनुसार चौधरीले पत्रकार सम्मेलन मार्फत नै पार्टी छाडेको घोषणा गर्ने छन् । 

गणतान्त्रिक व्यवस्थापछिका इटहरी उपमहानगरपालिकाका पहिलो मेयर भएका चौधरी नगरको विकासमा विवाद रहित नै भए । तर,उनको छुद्र व्यवहार र बोलीका कारण आधा कार्यकाल विवादित भए । उनी नियम विपरीत आफ्ना निकटहरूलाई जागिर लगाउने विषयमा पनि विवादित भएका थिए ।

विवादका बिच पाँच बर्से कार्यकाल सकिएपछि उनी एमाले पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । खुम टार स्थित प्रचण्ड निवास नै पुगेर उनले माओवादी केन्द्रको सदस्यता लिएका थिए । लगत्तै उनलाई प्रचण्डले २०७९ को प्रदेश निर्वाचनमा उम्मेदवारीका लागि टिकट समेत दिएका थिए । उनी एमालेमा रहँदा कहिले पनि राम्रो सम्बन्ध नभएका रेवती रमण भण्डारीसँग पराजित भएका थिए । भण्डारी अहिले कोसी प्रदेशको आन्तरिक तथा सङ्घीय मामिला मन्त्री छन् । प्रदेश निर्वाचनमा भण्डारीसँग नराम्रो गरी पराजित भएपछि उनी केही समय माओवादी रहेका थिए । त्यसपछि पुनः एमालेमा फर्किएका थिए । एमालेमा केन्द्रीय सदस्य पाउने आशामा रहेका उनलाई पार्टीले कोसी प्रदेश कमिटीको सदस्य बनाएको थियो ।