२०६४, असार

पहिलो पटक मैले महिनावारीको बारेमा कक्षा आठ पढ्दा थाहा पाएँ । मेरो बुवा आमा आफन्तको विवाहमा जानुभएको थियो । हामी दाजुबहिनी मात्र भयौँ घरमा, त्यसैले मेरो घरमा हामीलाई राति डर नहोस् भनेर छिमेकीलाई सुतिदिन भन्नुभएको थियो । पहिलो रात छिमेकी दिदी आउनुभयो तर अर्काे दिन उहाँको ममी आउनुभयो । आज दिदी आउनु हुन्न भनेर मेरो बहिनीले प्रश्न गर्दा ती छिमेकी काकीले उनी मिन्स भएकी छिन् त्यही भएर आउँदिनन् भन्नुभयो । मैले बिरामी हुनुभयो होला भन्ने सोचँे । भोलिपल्ट स्कुल पुग्दा, उहाँको साथी आएर मलाई दिदी किन नआको भनेर सोध्नुभयो । मलाई के थाहा भने ।

उहाँले अस्ति तिम्रोमा सुत्नुपर्छ भनेकी थिइन् त्यसैले तिमी लाई सोधेको भन्नुभयो । अनि मैले खै हिजो त आन्टी आउनुभयो, दिदीलाइ सञ्चो छैन भने । आन्टीले खै के मिन्स भन्ने भको छ रे भन्नुभयो हिजो । यति भन्दा उहाँ हाँस्दै अनि आश्चर्यबोधसहित, तिमी लाई भन्नुभयो र ? भनेर प्रश्न गरिन् । म छक्क परँे । ठूलै राज थाहा पाएजसरी हेर्नुभयो । यो कुरा कसैलाई नभन भन्नुभयो । मैले हवस भनेँ तर मनमा खुलदुली जागिरह्यो । मैलै टिफिन समयमा मिसलाइ सोधेपछि उहाँले सहजै बताउनुभयो । र यसको विषयमा किताबमा छ तर मंसिरतिर मात्र पढाइ हुन्छ भन्नुभयो । त्यति बेला मैले थाहा पाएँ कि महिनावारी किशोरावस्थाबाट मासिक रुपमा रक्तश्राव हुन सुरु भएर ३५ वर्षको उमेरसम्मको महिलालाई हुने गर्दछ । यसलाई सहज रुपमा भन्नलाइ नछुने, मिन्स भनिन्छ भन्ने थाहा पाएँ ।

२०६६, मंसिर
कक्षा ११ मा अध्ययन गरेको वर्ष, परीक्षा चलिरहेको थियो । एक जना साथी परीक्षा समयको बीचमा नै छोडेर निस्केको देखेँ । म केही नआएर चाँडै निस्केको थिएँ । अनि मैले गेटमा उसको बाबालाइ देखेँ, सकिनसकी बाइकमा बसेर गई, अचम्म त्यति बेला लाग्यो जब उनी एकतर्फ फर्केर बसिन् । मैले पहिलो पटक उनलाइ त्यसरी बसेको देखेँ । कुरा गर्दै जाँदा, साथीहरूले उनलाइ पिरियड भएर बीचमै परीक्षा छोडेर गइन् भने । मैले पिरियड भनेको के हो भनेर सोध्दा सबैले हाँसेर उडाए । अनि एउटाले स्कुलमा पढिनस् भनेर हप्काए । खै थाहा छैन, बुझाएपछि बुझ्छुहोला नि भनेर भनँे । त्यसपछि एक जनाले बताएपछि थाहा भयो । सरकारी स्कुलमा नेपाली भाषामा बढी परिभाषित गर्नाले यो शब्दको अर्थबाट अनभिज्ञ रहेछु ।

२०६९, जेठ
म धरानको उप्का नेपाल नामक संस्थामा काम गर्थेँ । मेरो संस्थाको कार्यक्रमका लागि एक जना महिला सहजकर्ताको रुपमा आउनुभएको थियो । अन्तरक्रिया कार्यक्रम सम्पन्न भएपछि खाजा खाने बेला भएको थियो । त्यही बेला उहाँले मलाई प्याड किनेर ल्याउन भन्नूभयो । म नजिकैको चोक पुगेँ र एउटा कस्मेटिक पसलमा प्याड मागँे । पसले दिदीले कसलाई चाहिएको, कुन साइजको भनेर जिस्काउँदै सोधेर हैरान गर्नु भयो । किनेर निस्कँदै गर्दा आजकाल केटाहरु यस्तो चिज पनि किन्न थालेछन् भनेर पसलमै भएका अरु महिला ग्राहकले बोलेको सुनेँ तर नसुनँेझैँ गरेर निस्किएँ । मैले पहिलो प्याड किनेको थिएँ । त्यसपछि हरेक कार्यक्रममा आवश्यक सामग्रीमा सेनेटरी प्याड अनिवार्य खरिद गरेर समावेस गर्ने गरेको छु ।

२०७३, असोज
प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी १ हप्ते प्रशिक्षक प्रशिक्षण तालिम लिने अवसर प्राप्त गरेँ । एचआईभी एड्स रोकथाम परियोजनाअन्तर्गत सार्कको सहकार्यमा भारतको संस्थाले आयोजना गरेको तालिममा सहभागी भएपश्चात् सुनसरी र मोरङमा धेरै स्थानमा तालिमहरु सञ्चालन गर्ने अवसर प्राप्त गरेँ । महिनावारी विषयमा केन्द्रीत तालिममा सिकेको कुरालाई सहज रूपमा बताउन सक्षम भएको थिएँ ।

२०७५, माघ
महिनावारीको बारेमा भएको भ्रम, बालिकाहरुलाई समयमा जानकारी नदिनाले भएको समस्याहरु देखेपछि मैले ९–१३ वर्ष उमेर समुहका बालिकालाई लक्ष्यित गरेर लालपरी अभियान सुरु गरे । हरेक बालिकालाई उसले अनुभव गर्ने पहिलो महिनावारीपूर्व नै महिनावारी र पहिलो पटक महिनावारी भएको अवस्थामा के कस्तो कुरामा ध्यान दिने, कसरी आफुलाइ आत्मबल दिने, व्यक्तिगत सरसफाइमा र अरुलाइ पहिलो पटक महिनावारी हँुदा आफुले के के गर्नुपर्ने आदि विषय समेटेर लालपरी अभियानका अन्तरक्रिया सञ्चालन गर्न सुरु गर्याैँ । न्यूनतम कक्षा १२ उत्तिर्ण महिला युवाहरुलाई तालिम दिएर मात्रै सहजकर्ताको रुपमा अभियानमा जोडेर कार्यक्रमहरु करिब १६ वटा जिल्लामा सञ्चालन गरेका छौँ ।

२०७६, मंसिर
उपहार दिने चलन सबै सम्बन्धमा हुन्छन् । मैले आफ्नो प्रेमिकालाई पहिलो पटक उपहारको रुपमा सेनेटरी प्याड दिएको थिएँ । उनले प्रेम सम्बन्धका लागि प्रस्ताव गरेपछि पहिलो भेटमा मैले यसरी उपहार दिँदा सुरुमा उनी रिसाइन् तर हप्ता दिनपछि धन्यवाद भन्दै म्यासेज पठाएकी थिइन् । मूल्य कम भए पनि यो उपहार मेरो लागि बहुमुल्य छ भनेकी थिइन् । कुनै महङ्गो उपहार दिँदा समय र आवश्कता अनुसार त्यसबारे धारण फरक हुन्छन् तर जीवनसँग जोडिएका कुनै चिज सँधै उत्कृष्ट हुन्छ । त्यसपछि मेरो झोलामा एक प्याकेट प्याड रहने गर्छ । धेरै पटक आवश्यक पर्दा अरुलाइ दिएको छु । उनीसँग सम्बन्ध नरहे पनि उनले सिकाएको यो कुरा भुलेको छैन ।

२०७६, चैत
मैलै निकै मिलनसार महिला मित्रलाई उनको जन्मदिनको अवसरमा प्याड किनेर उपहार दिएको थिएँ । त्यसदिन उनले मलाई तपाईं वास्तविक परी हो भनेकी थिइन् । पुरुष पनि परी हुन्छ र भनेर सोधेको थिएँ । जवाफमा उनले अरुलाइ सहज वातावरण सृजना गरिदिने र नारीको आत्मसम्मानसँग जोडिएको मुद्दामा सकारात्मक र सशक्तिकरण विकासको लागि काम गर्ने हरकोही महिला होस या पुरुष, एन्जल हुन् अर्थात् परी हुन् ।

सुशील राजभर
संस्थापक, लालपरी अभियान