सुनसरी : इटहरीमा गहना गृह तथा मनि ट्रान्सफरमा चोरी भएको छ । इटहरी १९ स्थित सेरा टोलमा सञ्चालित हरिहर गहना गृह तथा हरि ओम मनि ट्रान्सफर (आईएमइ) मा शुक्रबार बिहान सटर काटेर ठुलो परिमाणमा सुन र चाँदी चोरी भएको हो । सञ्चालक हरि प्रसाद पौडेलले पसलबाट २० तोला सुन, करिब ८ केजी चाँदी र १० हजार रुपैयाँ चोरिएको जानकारी दिए ।
पौडेलका अनुसार सटरको ताला लगाउने भाग ग्यास वेल्डिंगले काटेर चोर भित्र पसेको उनले बताए । चोरले सुरुमा सिसिटिभीको फुटाएर चोरी गरेको जनाइएको छ । पसलको लकरमा रहेको सुन, चाँदी र नगद सुरक्षित भए पनि बाहिर राखेको सुन र चाँदी चोरी भएको पौडेलको भनाई छ । शनिवार बिहान ११.३० बजे पसलको छेउको ब्युटी पार्लर खोल्ने क्रममा महिलाले सटर काटेको देखेर सञ्चालकलाई खबर गरेकी थिइन ।
‘शनिवार ढिलो गरी मात्र पसल खोल्छौ, बुहारीले सटर काटेको देखेर हामीलाई खबर गरिन,’सञ्चालक पौडेलले प्रदेश पोर्टललाई भने ‘भित्र हेर्दा दराजमा राखेको सुन र चाँदी चोरी भएको पायौ । लकर भने सुरक्षित छ, डिस होमको रिर्चाज गरेको १० हजार रुपैयाँ पनि चोरी भयो ।’
पसलको घरको पछाडिबाट चोर छिरेर आवाज नआउने गरी ग्यास वेल्डिंगले सटर काटेको थियो । सिसिटिभीको हार्ड-डिस्क समेत चोरी भएको पौडेल बताउँछन् । घटनापछि सञ्चालक पौडेलले इलाका प्रहरी कार्यालय इटहरीमा चोरी सम्बन्धी निवेदन दिएका छन् । चोरी भएको सुन र चाँदीको मूल्य झन्डै ४६ लाख रुपैयाँ बराबर भएको बताइएको छ ।
यता इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजेन्द्र पौडेलले चोरी भएको जानकारी आएपछि घटना अनुसन्धानको लागि प्रहरी परिचालन गरिएको बताए ।