इटहरी/ हालसम्म इटहरी क्षेत्रबाट नेपाली सिने क्षेत्रमा केही कलाकारले सामान्य र सहायक भूमिका निर्वाह गरे पनि मुख्य भूमिकामा अभिनय गरेको पाइएको छैन । तर, अब चाँडै नै इटहरीकी कलाकार पूजन थापाले त्यो शून्यतालाई चिर्ने भएकी छिन् । असार ११ गतेदेखि सुटिङ हुन लागेको नेपाली चलचित्र ‘कस्मिक लभ’मार्फत् उनले त्यो शून्यता चिर्ने भएकी हुन् ।
इटहरीमा जन्मिएकी थापाले इटहरीको स्कुल थिएटरमार्फत् अभिनय शुरु गरेकी थिइन् । त्यसपछि उनले धेरै नाटकमा अभिनय गरिन् । ‘५ कक्षादेखि १२ कक्षा पढ्दासम्म मैले धेरै नाटकमा अभिनय गरेँ’, आइतबार फोन सम्पर्कमा थापाले भनिन्, ‘ठ्याक्कै सङ्ख्या थाहा नभए पनि मैले निरन्तर धेरै नाटकमा अभिनय गरिरहेँ ।’

‘सेतो बाघ’ पछि ‘कस्मिक लभ’
मुख्य अभिनयको रूपमा ‘कस्मिक लभ’ थापाको डेब्यु फिल्म भए पनि उनले बाल कलाकारको रूपमा नीर शाह निर्देशित ऐतिहासिक कथामा आधारित ‘सेतो बाघ’ मा अभिनय गरेकी थिइन् । उनले भनिन्, ‘१० कक्षामा पढ्दा जंगबहादुरकी कान्छी छोरीको रूपमा ‘सेतो बाघ’मा अभिनय गरेकी थिएँ । त्यसपछिको फिल्म यही नै हो ।’

लामो प्रतीक्षा, धेरै अपेक्षा
१२ कक्षाको पढाइ नसक्दै उनलाई फिल्म क्षेत्रको लागि अफर भने आउन थालेका थिए । ‘म मकालु टेलिभिजनमा कार्यक्रम चलाउँथे’, त्यतिबेलैदेखि मुख्य भूमिकामा अभिनय गर्न धेरै प्रस्ताव आएका थिए तर मैले स्वीकार गरिनँ,’ थापाले भनिन्, ‘कुनैको कथा मन परेन त कुनै अन्य कारणले अस्वीकार गरेँ । तर, यो फिल्मको कथा धेरै मन परेकाले स्वीकार गरेकी हुँ ।’
लामो समयको पर्खाइपछि अवसर पाएको र सोचेजस्तो कथा भएको हुनाले यस फिल्मबाट आफू उत्साहित भएको र धेरै अपेक्षा रहेको उनले बताइन् । ‘म २०१९ को मिस नेपालमा प्रतिष्पर्धा गर्ने तयारीमा थिएँ’ थापाले भनिन्, ‘अब सिने क्षेत्रमा लाग्छु, मिस नेपालको तयारी गर्दिनँ ।’

नायकको पनि डेब्यु फिल्म
‘कस्मिक लभ’ पूजनको मात्रै नभएर नायक रिजेन थापाको पनि डेब्यु फिल्म रहेको उनको भनाइ छ । फिल्ममा अर्पण थापा, दिया मास्के, रविन तामाङलगायतको अभिनय रहने र काठमाडौं र पूर्वका साथै सिक्किममा सुटिङ हुने थापाले बताइन् ।

दोस्रो साइन, पहिलो सुटिङ
‘कस्मिक लभ’ मार्फत् मुख्य भूमिकामा डेब्यु गरेकी थापाले यसअघि नै अर्काे एक फिल्ममा पनि मुख्य भूमिकामा अभिनय गर्ने भनेर लिखित स्वीकृति दिएकी थिइन् । तर, सो फिल्मको भदौमा मात्रै सुटिङ शुरु हुने भएपछि दोस्रो पटक ‘साइन’ गरेको फिल्मको पहिले सुटिङ हुन लागेको उनले बताइन् । ‘कस्मिक लभ’ को सुटिङ सकिएपछि भदौदेखि अर्काे फिल्मको सुटिङ हुने पनि उनले जानकारी दिइन् ।

सञ्चारकर्म पनि सँगसँगै
स्नातक तहमा अध्ययनरत थापा आमसञ्चारकी विद्यार्थी हुन् । साथै उनी सञ्चारकर्मीको रूपमा पनि रहेकी छिन् । ११ कक्षामा पढ्दा उनी विराटनगरको मकालु टेलिभिजनमा ‘इनबक्स’ भन्ने कार्यक्रम चलाउँथिन् । २ वर्ष सो कार्यक्रम चलाएकी उनले काठमाडौैं गएपछि स्पोर्टस च्यानलमा ‘खेलका कुरा’ कार्यक्रम चलाइन् । हाल उनी सगरमाथा टेलिभिजनमा ‘प्ले स्टोर’ चलाइरहेकी छिन् ।

35416009_1227086344101145_9044140577691533312_n 35472323_1227086357434477_6740420557927350272_n 35416406_1227089760767470_7792747043629301760_n 35493239_1227086380767808_1340731551058493440_n 35462753_1227087327434380_9158956465241718784_n 35557510_1227089750767471_117671817463726080_n 35493239_1227087384101041_98466922739269632_n