आमाको कोखबाट निस्केर
जब मेरा कलिला पाइतालाले
धर्ती स्पर्श गर्याे 
मलाई लाग्यो
म कुनै नौला संसारमा आएको छु 
जस्तो की 
मेरो आफ्नो धर्तीबाट बेदख्खल भएँ
म डरले थर्थराएँ 
र ब्रम्हाण्डनै थर्किने गरी चिच्याएँ 
 बाबाले मलाई न्यानो काखमा राख्नु भयो 
र मायाले मलाई चुम्नु भयो 
 म शान्त भएँ 
र मलाई लाग्यो 
 बाबानै मेरो अबको धरातल हो 
मेरो पहिलो ठेगान हो ।
उभिन नसकेर जब मेरा पाउहरु धरमराए
हिड्न नजानेर सयौंचोटी 
भुँईमा लडेँ ,पछारिएँ
 बाबाले मलाई हातको साहारा दिएर
उभिन लगाउनु भयो 
बाबाको ओैला समाएर 
 हिड्न सिकाउनु भयो 
जीवनपथको हरेक अप्ठ्याराहरुमा
मलाई अडिलो भर दिने 
बाबा 
मेरो यात्राको पहिलो आधार हो

जब बाबाको काँधमा चढेर
म सयर गर्थेँ गाँउ बेसी 
पाइताला नभिजाई म 
खोला खोल्सी र जंघार तर्थे
भूँई नटेकी म पहरा चढ्थे 
र भेट्थे जुनको निलिमा 
र छुन्थे हिमालको अग्लाई
त्यसैले बाबा
मलाई उचाई चिनाउने 
मेरो जीवनको पहिलो टाकुरा हो ।
जब म अक्षरको उज्यालो उघार्न नसकेर 
तोते बोल्दै अन्धकारमा अल्मलिरहेको थिएँ
मेरो हात समाएर क ख लेख्न सिकाउनु भयो र उज्यालो भविस्यको गोरेटोमा 
 पाइला टेकाउनु भयो 
मेरो लागी काँधमा उज्यालो 
बोकेर आउने 
बाबा मेरो जीवनको पहिलो बिहान हो ।
मेरा पाइतालाहरु जब
उक्लिन खोज्दैन बाटो भिरालो 
अज्ञानताले निभाउन खोज्छ 
मेरो ज्ञानको दियालो 
तब बाबा म भित्र 
सल्काउनु हुन्छ अर्तिको सलेदो 
र बाल्नु हुन्छ 
विनयशीलताको दीप 
मलाई लाग्छ बाबा 
मेरो ज्ञानसुधाको 
दियो जगाउने कहिले नसुक्ने 
मुलको तेल हो ।
जब म संसारबाट थाकेर लखतरान हुन्छु
हार खान्छु संघर्षका पहाडहरुसँग 
हाम्रो बाबा 
उकालो लागेको उमेरलाई पनि 
चुनौती दिदै 
निरन्तर हाम्रा लागी खटीरहनुहुन्छ 
अतुलनिय त्यो उदाहरण जब म देख्छु 
मलाई लाग्छ बाबा 
एउटा अथक मिनि रेल हो ।
कमजोर बतासले पनि 
जब मलाई उडाउन खोज्छ 
हजारौं आँधीहरुको वेग थाम्दै 
पहाडको अचलता बोकेर उभिने
 बाबाको ईतिहासले 
मलाई जीवनको मजबुती सिकाउछ 
त्यसैले बाबानै 
मलाई जिन्दगीको बिशालता पढाउने
पहिलो पाठशाला हो ।
भिडमा पनि जब म एक्लो र अशान्त हुन्छु 
 जीवनभर संसारसँग भिडेर पनि 
आमाको छाँयामा खुलेको 
बाबाको बृद्ध अनुहारमा 
गुम्बाको शान्ति पाउछु 
मन्दिरको पवित्रता भेट्छु 
मलाई लाग्छ 
बाबा आमानै 
मेरो पहिलो तिर्थस्थल हो ।
सिंगो आकाश ओढेर पनि 
जब म उदाङ्गो हु्न्छु
सिंगो धर्ती टेकेर पनि आधारहिन ठान्छु
सपनाका हिमालहरु छातीभरी बोकेर पनि 
जीवन अग्निमा तप्त हुन्छु
बाबाको स्नेहको छहारीले 
मलाई ओत दिन्छ आँट दिन्छ
आशिर्वाद र अर्तीका सुनौलो हरफहरुले
सधैँ हाम्रो जीवनको छितिज 
रंगाउन चाहने
बाबा 
बिश्राम अघीको 
सुर्यको त्यो स्वर्ण किरण हो 
वा भनौं 
सधैँ बरले पिपल अंगालेर बस्ने 
 सित्तल त्यो चौतारी हो 
जहाँ बिसाएर म जिन्दगीको
तमाम थकानहरु
मेट्ने गर्दछु ।
                    
        
        
                            
                                                            
        



















