गण्डकीः पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका कलाका माध्यमबाट पछिल्ला समयमा भइरहेको जलवायु परिवर्तनको प्रभावसँगै नेपालको बढ्दो युवा पलायनप्रति चिन्ता व्यक्त गरिएको हो ।

सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा राखिएका कलामार्फत नेपाली प्रकृति र संस्कृतिको उजागर गर्न खोजिएको छ नै बढ्दै गएको जलवायु परिवर्तन तथा युवा पलायन जस्ता कुरालाई जीवन्त चित्रण गर्न खोजिएको छ ।

जलवायु परिवर्तनको असरलाई कलामार्फत प्रस्तुत गर्दै कलाकार रिक गुरुङले बढ्दै गएको तापमानका कारण पृथ्वी आकुलव्याकुल भएको र यसबाट बचाउनका लागि शङ्खघोष गर्न खोजेको दृश्य देखाइएको छ ।

त्यस्तै गुरुङले प्रदर्शनीमा राखेको अर्को कलाले नेपाली मौलिक संस्कृतिलाई जीवन्त रुपमा प्रस्तुत गर्न खोजेको छ । नेपाली परम्परागत घुमाउने घरसहितको परिवेशमा परम्परागत पोसाकमा सजिएका व्यक्ति मादल बजाउँदै नाच्दै गरेको दृश्यलाई कलामा उनले समेटेका छन् ।

प्रदर्शनीमा नै राखिएको कलाकार बुद्धि गुरुङको माछापुच्छ्रे हिमालको दृश्यले यहाँ आउने जो कोहीलाई लोभ्याएको छ । प्रदर्शनीमा नै राखिएको कलाकार बाबुराम बस्ताकोटीको कलाले नेपाली समाजको बढ्दो युवा पलायनलाई चित्रण गर्न खोजेको छ । युवा जनशक्ति पलायन भएका अवस्थामा एउटा सानो बालकले खेतमा गोरु जोत्न खोजेको तर उ, आफैँ के गरौं कसो गरौँ जस्तो भएर अलमलिएको जस्तो दृश्य प्रस्तुत गरिएको छ । युवाहरूको पलायनसँगै बढ्दो बसाइँसराइ समस्याका रुपमा गाँजिदै गएको कलामार्फत सन्देश दिन खोजिएको छ ।

बेलायतबाट आउनुभएकी कलाकार जुलिएत्ले रोछेले नेपाली आदिवासी महिलालाई कलामा उतारेका छन्। प्रदर्शनीमा उनीसहित अन्य विदेशी कलाकारका कला राखिएका छन् । सिर्जनशील कलाकार समूहका अध्यक्ष डिबी गुरुङका अनुसार प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा नेपाली ३३ र अमेरिका, अष्ट्रेलिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्यान्डका गरी १५ विदेशी कलाकारले सहभागिता जनाएको बताउँदै उनले कुल ७० कलाकृतिलाई प्रदर्शनीमा राखिएको जानकारी दिए।

विदेशी कलाकार स्वयम् उपस्थित भएर उनीहरूका कलाकृतिसमेत प्रदर्शनीमा राखिएको जनाउँदै उनले उनीहरूसँग नेपाली कलाकारले पनि सँगै साक्षात्कार गर्न पाउँदा त्यसले यहाँको कलाकारितालाई विश्वमाझ पुर्‍याउन र त्यहाँका अनुभव सिक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस