इटहरीः कलाकार सङ्गम बिष्टले आफूविरुद्ध फैलिएका आरोप र सामाजिक मानसिकताविरुद्ध कडा प्रतिक्रिया दिएकी छिन्। बाल्यकालदेखि नै कला क्षेत्रमा सक्रिय बिष्टले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिले अहिले व्यापक चर्चा पाएको छ।
२ वर्षको उमेरदेखि नृत्य र ५ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय बिष्टले १३ वर्षको उमेरमै तत्कालीन राष्ट्रपति रामबरण यादवबाट राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन्। उनी नेपाली फिल्म क्षेत्रमा स्थापित युवा कलाकारका रूपमा चिनिन्छिन्।
हालै सामाजिक सञ्जालमा आफूविरुद्ध विभिन्न आरोपहरू लगाइएको भन्दै उनले ती आरोपहरूको कडा शब्दमा खण्डन गरेकी छिन्।
“पैसाको लागि, ब्रेकअपको कारण, वा उद्योगमा प्रवेशका लागि गरिएको भन्ने आरोप निराधार हुन्,” उनले उल्लेख गरेकी छिन्।
उनका अनुसार, यो विषय व्यक्तिगत सीमाभन्दा बाहिर गएर सामाजिक न्यायसँग जोडिएको छ।
“मेरो आवाज अब मेरो मात्र होइन, हजारौँ दिदीबहिनीहरूको दबिएको आवाज हो,” उनले भनिन्।
बिष्टले नेपाली समाजमा विद्यमान सोचप्रति गम्भीर प्रश्न उठाउँदै नारीमाथि हुने अन्यायविरुद्ध कडा संघर्ष गर्ने चेतावनी समेत दिएकी छिन्।

उनले भनिन्, “अब यो लडाइँ व्यक्तिगत होइन, सामूहिक हो, र यसलाई जित्नैपर्छ।”
उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थन र सहानुभूतिको लहर देखिएको छ। धेरैले उनको साहसको प्रशंसा गर्दै न्यायको पक्षमा आवाज उठाइरहेका छन्।
उनले अन्त्यमा न्याय नपाए कडा कदम चाल्ने संकेत गर्दै,
“कि त अपराधी जेल जान्छ, कि न्यायको अर्को रूप देखिन्छ,” भन्ने चेतावनी दिएकी छिन्।
उनको भनाइले नेपाली समाजमा नारी अधिकार, न्याय र सामाजिक सोचबारे पुनः बहस सुरु गराएको छ।




















