धनकुटा :नेपाल बिद्युत प्राधिकरणले नेपाललाइ लोडसेडिङ्ग मुक्त देश घोसणा गरिसकेको छ । तर धनकुटेली जनताले सो को अनुभुती गर्न त गरको कुरो पाएका छैनन् नै, बिद्युत आपुर्तीमा बढ्दो अनियमितताका कारण झनै समस्या थपिएको छ ।
”लोडसेडिङ्ग मुक्त नेपाल” सामान्य तया सुन्दा आनन्द महसुस गराउने यी शब्दले धनकुटेली जनतालाइ भने अहिले सम्म छुन सकेको छैन । कारण हो, बिद्युत आपुर्तीमा बढ्दो अनियमितता ।

छिनमै आउने अनि छिनमै जाने, भोल्टेज कम हुने, तथा बिग्रिएपछि बनाउन धेरै समय कुर्नुपर्ने लगायतका समस्या धनकुटेली जनता भोग्न बाध्य छन् । नियमित बिद्युत नआउँदा उद्योगधन्दा ब्यापार ब्यबसाय सञ्चालन गर्न समस्या भएको ब्यबसायीको भनाइ छ ।

लोडसेडिङ्ग हुदाँ निश्चीत समयमा जाने तर अन्य समय निरन्तर बिजुलि आउने गरे पनि हाल भने पटक पटक बिजुली जाँदा स्थानिय हैरान बनेका हुन् । अझ ग्रामीण क्षेत्रमा त झनै समस्या छ । बिद्युतमा समस्या आएको लामो समय सम्म समाधाननै हुन सक्दैन । बिद्युतमा बढ्दो समस्याका कारण आफ्ना बालबालिकालाइ अनलाइन कक्षा दिन समेत समस्या भएको धनकुटा ६का स्थानीय सुन्दर बाबु श्रेष्ठको गुनासो छ ।
यता बिजुली नियमित नहुनुमा बिभिन्न समस्या रहेका छन् । ग्रामिण क्षेत्रमा रहेका पुराना पोल जिर्ण भएकाले हावाहुरी पानी पनि पटक पटक क्षती पुर्याउने गरेको छ । ११ केभी प्रसारण लाइनका करिब एक हजार तथा ग्रामीण क्षेत्रमा बिस्तार गरीएका लाइनमा करिब दश हजार जिर्ण पोल रहेका छन् ।

धरान बाट धनकुटा सम्म आउने लाइन जगंलको बिचबाट आउने भएकाले पनि बिग्रीहाले पत्ता लगाउनै समस्या हुने गरेको छ । आठ फिडरबाट बिजुलि बितरण गरीएको धनकुटामा एक फिडर बराबर बिस किलोमीटर मात्र बितरण गरिनुपर्ने भएपनि ६० किलोमिटर सम्म बितरण गरिएको विद्युत् प्राधिकारण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक रापकोटाको भनाई छ ।

एउटा ट्रान्सफर्मरबाट दुइ किलोमिटर क्षेत्र भित्र मात्र बिजुली बितरण गर्नुपर्ने भएपनि यहा ५ किलोमिटर सम्म बितरण गरिएको छ । क्षेत्र धेरै तथा कर्मचारी थोरै भएकाले पनि समस्या आउने बित्तिकै कर्मचारी सेवा दिन सक्ने अबस्था छैन । समस्या समाधानको लागि माथिल्लो निमायमा आग्रह गरेपनि समाधान भने हुन नसकेको कार्यालयको भनाई छ ।

धनकुटामा हाल करिब २९ हजार घर धुरिले बिजुली प्रयोग गदै आएका छन् । तर कसैले पनि ढुक्कले बिजुलि प्रयोग गर्न सक्ने अबस्था छैन । बिजुलि नियमित हुन नसक्नुको कारण जिर्ण पोलमा आउने समस्या ट्रान्सफर्मरको क्षमता भन्दा बढि लाइन बितरण गरिनु लगायतनै हुन् । यसले बिद्युत अनियमित मात्र भएको छैन जोखिम समेत उत्तिकै बढाएको छ । यसर्थ लाइन बिस्तारको पुर्बाधार मजबुत बनाउन तर्फ सम्बन्धित निकायको ध्यान जान आबश्यक छ ।