धरानः मृगौलापीडित पत्रकार तथा रङ्गकर्मी प्रवीण राईको उपचार सहयोगार्थ धरानमा चलचित्र ‘५ इडिएट’ को च्यारिटी–शो गरिने भएको छ ।

ग्लोरी मिडिया प्रालिद्वारा निर्मित चलचित्रको च्यारिटी–शो असोज २२ गते धरानको गणेश टाकिज हलमा हुने भएको हो । च्यारिटी–शोबाट सङ्कलित रकमबाट केही रकम राईको उपचारमा सहयोग गरिने चलचित्र निर्देशक प्रकाश लिम्बूले पत्रकार सम्मेलनमा बताए ।

‘रकम यति नै सहयोग गर्ने भन्ने त छैन । तर, च्यारिटी–शोबाट नउठे पनि १५ हजार रुपैयाँ सहयोग गर्छौँ, लिम्बूले भने, ‘बढी रकम उठ्यो भने त्यही अनुसार सहयोग गर्छाैं ।’ दुवै मृगौला खराब भएका पत्रकार राई ३ महिनादेखि घरैमा डायलोसिस गराइरहेका छन् ।
१० लाख रुपैयाँको लागतमा निर्माण गरिएको फिल्मको छायाङ्कन धरानको विभिन्न ठाउँमा गरिएको छ ।

चलचित्रको कथा पनि निर्देशक लिम्बूले नै लेखेका हुन् । चलचित्रले अहिलेको पुस्ता सामाजिक रूपमा कसरी परिवर्तित हुँदैछ भन्ने देखाउने निर्देशक लिम्बूले बताए । चलचित्रमा लेखक तथा निर्देशक लिम्बूका साथै कपिल लिम्बू, प्रयास गुरुङ, मनिराज बिमली, इन्द्रकुमार लिम्बूको पनि अभिनय रहेको छ । यसैगरी, रोमन श्रेष्ठ, सरिता राई, उमा चाम्लिङ राई, पुष्पाञ्जली लिम्बू, झरना बिष्ट, कविता रिमाल र रश्मी तामाङको पनि अभिनय रहेको बताइएको छ । पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर पनि देखाइएको थियो ।